सरकारको सीमाना नीति र डोजर आतंकविरुद्ध राष्ट्रिय एकता दलको काठमाडौँमा प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
1.7k
Shares
काठमाडौँ । राष्ट्रिय एकता दलले सीमाना क्षेत्रमा लागू गरिएको रु १०० को प्रावधान खारेजी तथा तथाकथित “डोजर आतंक” को अन्त्यको माग गर्दै आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
करिब २०० जनाको सहभागिता रहेको उक्त प्रदर्शनमा दलका कार्यकर्ता तथा नेताहरूले चर्को नाराबाजी गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । सहभागीहरूले सीमाना क्षेत्रमा गरिब नागरिकमाथि भइरहेको अन्याय, कडाइ र भेदभावपूर्ण व्यवहारको विरोध गरे ।
कार्यक्रम दलका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा सम्पन्न भएको थियो । साथै नेता तोयानाथ दहाल, कालानंद मिश्र र प्यारी तामाङ लगायतले पनि सम्बोधन गरेका थिए ।
अध्यक्ष यादवले “सीमानामा रु १०० को नाममा गरिबमाथि अन्याय भइरहेको छ। सरकार धनीका लागि नियम फितलो बनाउँछ, तर गरिबका लागि कडा। एयरपोर्टबाट सुन र रक्सी सजिलै छिर्छ, तर किसानले ल्याएको चामलसमेत जाँचिन्छ। यो दोहोरो मापदण्ड अब सहिँदैन। डोजर प्रयोग गरेर जनताको घर भत्काउने काम बन्द हुनुपर्छ। कुनै पनि कारबाही पूर्व सूचना बिना गरिनु मानव अधिकारको ठाडो उल्लङ्घन हो", भने ।
दलले, "हामी सरकारसँग स्पष्ट माग गर्छौं—सीमानाका जनताको अधिकार सुनिश्चित गरियोस्, किसानलाई आवश्यक मलखादको व्यवस्था गरियोस्, र गरिबमाथिको दमन तुरुन्त रोकियोस्”, भनेको छ ।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। दलले सरकारसँग आफ्ना मागहरू सम्बोधन नगरे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।
सहभागीले सरकारको कदमविरुद्ध चर्का नारा लगाए । नाराहरू यस्ता छन्ः
प्रदर्शनमा सीमामा १०० को नियम हटाऊ,
गरीबको हक अधिकार बचाऊ!
एयरपोर्टमा सुन–रक्सी छुट,
गरिबको चामल किन जाँच कुट?
पूर्व सूचना बिना डोजर बन्द गर,
जनताको घरमा अन्याय अन्त गर!
डोजर आतंक अब सहिँदैन,
गरीबमाथि अत्याचार चल्दैन!
सीमानाका किसानलाई मल देऊ,
उनको श्रमको सम्मान गर देऊ!
नेपाल–भारत सीमामा अन्याय बन्द गर,
गरीबमाथि दुर्व्यवहार अन्त गर!
सीमानाका जनताको अधिकार सुनिश्चित गर,
राज्यले अब जिम्मेवारी पूरा गर!
मानव अधिकारको रक्षा गर,
दमन होइन, न्याय देऊ सरकार ।