arrow

गिरोहलाई लाइन खुला

सीमामा सानालाई ऐन र ठूलालाई चैन 

पशुपति खन्डेलवाल, राजेश खन्डेलवाल र सचिन खन्डेलवालको गिरोहमार्फत मधेस प्रदेश र देशका विभिन्न नाकाहरूबाट अवैध ओसारपसार

logo
दीपेन्द्र चौहान,  
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
pashupati-rajesh-sachin-khandelwal.jpeg
तस्बिर : पशुपति खन्डेलवाल, राजेश खन्डेलवाल र सचिन खन्डेलवाल ।

वीरगञ्ज । नेपाल–भारत खुला सिमानामा तैनाथ सुरक्षा संयन्त्रको चरम पाखण्ड र दोहोरो चरित्र यतिखेर पूर्ण रूपमा नांगिएको छ । दुई छाक टार्न पारिबाटप नून, तेल र चिनीजस्ता सामान्य उपभोग्य वस्तु ल्याउने निमुखा नागरिकलाई सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामानको भन्सार महसुल चुक्ता गरेरमात्र भित्र्याउन कडा उर्दी जारी गर्दै चरम सास्ती दिने गरेका छन् । 

बिडम्बना तिनै सुरक्षाकर्मीको सेटिङ र साँठगाँठको आडमा मधेस प्रदेशका केही स्थानहरूमा रातारात अवैध सामानको भारी वारपार भइरहेको छ । भन्सारका मुख्य नाकाहरूमा गरिब निमुखाहरूको झोला खानतलासी गर्न बहादुर देखिएका सुरक्षा निकाय तस्करका ठूला गिरोह सामु भने निरीह र शंकास्पद रूपमा मौन बस्नुले समग्र सीमा सुरक्षाको विश्वसनीयतामै गम्भीर प्रश्न उब्जाएको छ । 

बालेन सरकारमा पनि सानालाई ऐन र ठूलालाई चैनको प्रत्याभूति भएको गुनासो बढेको छ । यसको ज्वलन्त र लज्जास्पद नमूना यही वैशाख महिनामा महोत्तरी र सर्लाही नाकामा छताछुल्ल भएको छ । 

महोत्तरीमा मध्यराति भन्सार छलेर भारततर्फ तस्करी हुँदै गरेका तीन ओटा पिकअप भ्यान पूर्णरूपमा ‘चाइनिज स्याउ’सहित सशस्त्र प्रहरीले नियन्त्रणमा लियो । चन्द्रपुरका सुनील जयसवाल नामक व्यापारीको भनिएको उक्त लाखौँको स्याउ बरामद हुनुले तस्करहरूको जालो कति सुदृढ छ भन्ने प्रमाणित गर्छ । 

उता सर्लाहीको सखुअवा र संग्रामपुर नाकाबाट सेटिङमै भारततर्फ पुर्‍याइएको ठूलो परिमाणको चिनियाँ सामान भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले लालबन्दी नाकाबाट बरामद गरेको छ। 

दुई वटा बोलेरो पिकअपमा लगिएको करिब १ हजार २०६ किलो चिनियाँ लसुन र ३ हजार ७२४ किलो काँक्रोको बीउ भारतीय भूमिमा समातिनुले नेपालतर्फको फितलो सुरक्षा व्यवस्था र तस्करसँगको लाजमर्दो मिलमतोलाई घामजस्तै छर्लङ्ग पारेको छ।

सिमानामा कानूनको राज होइन, तस्कर र भ्रष्ट सुरक्षाकर्मीको सिन्डिकेट चलिरहेको कुरा सर्वसाधारणले भोग्नुपरेको ज्यादती र तस्करले पाइरहेको 'लाईन' ले आफैँ पुष्टि गर्छ। 

विगतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला रौतहट गौरका मूल निवासी  देशको विभिन्न नाकाबाट लसुन, मगज र स्याउ तस्करीको गिरोह सञ्चालन गरिरहेका "खन्डेलवाल ब्रदर्श" अहिले वीरगञ्जमा छन् ।

विमक्रिस इन्टरनेसनल प्रा. लि. राजेश मेडिट्रेड प्रा.लि. आदित्य इन्टरनेसनल, आर एस पी ट्रेडिंग प्रा. लि., ब्राइट फर्चुन प्रा.लि.र ग्लोबल ट्रेड एक्जिम प्रा. लि. मार्फत तेस्रो मुलुकबाट समान निर्यात गरेर अवैध रूपमा भारत पठाउने गरिएको छ । 

पशुपति खन्डेलवाल, राजेश खन्डेलवाल र सचिन खन्डेलवालको गिरोहमार्फत मधेस प्रदेश र देशका विभिन्न नाकाहरूबाट अहिले चाइनिज लसुन, स्याउ र मगज काँक्रोको बीउ भारततर्फ पठाउने गरिएको छ। 

खन्डेलवाल ब्रदर्शकी श्रीमतीको नाममा नेपाल र भारत दुवैतर्फ अर्बौको सम्पति रहेको दाबी गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ