arrow

शक्तिशाली शासकलाई विगतको असफलताबाट पाठ सिक्न भुषालको सुझाव [भिडियो]

बालेनलाई घनश्यामको चेतावनीः केपीको जस्तै नियति भोग्नु नपरोस्

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
ghanashayam-bhushal-01-23.jpg


काठमाडौँ । नेकपा (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुषालले प्रधानमन्त्री वलेन्द्र शाहलाई विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढ्न सुझाव दिएका छन्। बुधबार काठमाडौँको बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री शाह शक्तिशाली रहेकाले उनलाई गल्ती गर्ने कुनै छुट नभएको बताए।

भुषालका अनुसार शक्तिशाली शासकले गल्ती गरेमा धेरै चाँडो संकटहरू आइपर्ने र त्यस्तो असफलताको मूल्य प्रतिपक्ष वा समर्थक मात्र नभई सबै नागरिकले चुकाउनुपर्ने हुन्छ। उनले विगतमा केपी शर्मा ओली लोकप्रिय र शक्तिशाली हुँदा आफूले गल्ती नगर्न र खुट्टा पछाडि नफर्काउन सुझाव दिएको तर त्यसलाई बेवास्ता गर्दा अहिलेको नियति भोग्नुपरेको स्मरण गराए। प्रधानमन्त्री बालेनले पनि सोही इतिहासबाट पाठ सिकेर अघि नबढे उस्तै हालत व्यहोर्नुपर्ने उनको चेतावनी छ।

उनले भने,‘तपाई जति शक्तिशाली हुनुहुन्छ, यदि गल्ती गर्नुभयो भने धेरै चाँडो तपाईँमाथि संकटहरु आईपर्नेछ । म फेरि पनि दोहो¥याएर भन्छु–श्री वालेन्द्र साह नेतृत्वको सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको यो सरकार यो असफल हुँदा यसको मूल्य प्रतिपक्षका हिसावले कोही खुशी होलान् । तर यसको मूल्य सबैले तिर्नुपर्छ । यो डर हामी सबै नागरिकलाई छ । यस्तो मूल्य फेरि तिर्न नपरोस् । म सम्झिन्छु सम्भवतः २०७६ सालको सम्भवत भदौ वा असोजको कुरा हो । मैले कमरेड ओलीलाई भनेको थिएँ–राति ११÷१२ बजेको थियो । कमरेड ओली, तपाईंको व्यक्तित्व यो राष्ट्रको पुँजी हो । किनकी यस्तो व्यक्तित्वहरु जसको बन्छ, यो राष्टको पूँजी हुन्छ । यो धेरै ठूलो कुरा हो । राष्ट्रका लागि यो बलियो आधार हो । अझ पार्टीका लागि त यो ठूलो पूँजी हो । तर कमरेड ख्याल गर्नुस् तपाईंको व्यक्तित्व ओरालो लाग्दैछ है । मैले त्यो कुन बेलामा भनेको थिएँ भने जति बेला कमरेड ओली सबभन्दा लोकप्रिय हुनुहुन्थ्यो । त्यो बेला मैले कमरेड ओलीलाई भनेको थिएँ किनभने कमरेड ओलीको खुट्टा विस्तारै अन्त हिँडदै थिए । उहाँको खुट्टा देखिराखेका थिए मैले । उहाँको खुट्टा पछाडि फर्कन लागेको देखेपछि मैले उहाँलाई सचेत पारेका थिए । उहाँले अलिकति बेवास्ताको, अलिकति खिसीको भावमा मेरो कुरालाई उडाई दिनुभयो । म अहिलेपनि सम्झन्छु–कमरेड ओलीलाई यस्ता सल्लाहहरु मान्य भएन । र त्यसको मूल्य धेरै ठूलो भयो । यो ओलीजीको मात्रै होइन, संसारका जुनसुकै मानिस, जसका खुट्टा पछाडि फर्किन्छन् र उनीहरु पावरमा छन । तिनीहरुको नियति यस्तै हुन्छ । यो कुराबाट तपाईहरुले सिकिदिनुस् है । इतिहासलाई गिज्ज्याएर मात्रै तपाईँहरु सन्तोष नगर्नु होला । यसबाट सिक्नुहोला । हाम्रै असफलता थिए भने पनि म घनश्याम भुषालको असफलताबाट सिकेर बालेन सफल हुन्छन भने मेरो प्रयोग मेरो जिन्दगी सफल नै भएको ठान्नु पर्दछ । किनभने मैले मेरो सत्तामा आउने मेरो मुलुकको प्रधानमन्त्री, शासकलाई मेरो असफलताले उसलाई शिक्षा दिएको थियो भनेर गौरव गर्ने ठाउँ हुन्छ । यी कुराहरुलाई तपाईहरुले ख्याल गरिदिनु होला ।’

उनले व्यक्तिको व्यक्तित्व राष्ट्रको पुँजी हुने उल्लेख गर्दै इतिहासलाई गिज्याउने काम नगर्न र आफ्ना असफलताहरूबाट शिक्षा लिन प्रधानमन्त्रीलाई सचेत गराए। जुनसुकै शक्तिशाली शासकले पनि विगतबाट पाठ नसिकेमा नागरिकले ठूलो मूल्य चुकाउनुपर्ने तथ्यलाई उनले विशेष जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ