काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गरी श्रम सचेतना तथा सुरक्षित रोजगारीसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। राजदूतावास परिसरमा आयोजित उक्त कार्यक्रममा युएईका विभिन्न कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा राजदूतावासका श्रम सहचारी पङ्कज लामिछानेले श्रमिकका हकअधिकार, सुरक्षा, र कम्पनीमा काम गर्दा पालना गर्नुपर्ने नियमहरूका बारेमा विस्तृत प्रस्तुति दिए। उनले वैदेशिक रोजगारीका क्रममा अपनाउनुपर्ने सावधानी, श्रम स्वीकृति नवीकरण, सामाजिक सुरक्षा कोषको महत्त्व र नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि उपलब्ध गराएका विभिन्न सुविधाहरूबारे जानकारी गराए।
साथै, राहदानी, इमिरेट्स आइडी र श्रमिक परिचयपत्र जस्ता व्यक्तिगत कागजातहरू सुरक्षित राख्न तथा साइबर अपराध एवं आर्थिक ठगीबाट जोगिन श्रमिकहरूलाई विशेष आग्रह गरिएको छ। कार्यक्रममा विदेशमा हुने खोजतलास, उद्धार, क्षतिपूर्ति र श्रमिक सहायतासम्बन्धी निवेदनहरू कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमार्फत दर्ता गर्न सकिने प्रक्रियाबारे पनि बुझाइएको थियो।
राजदूतावासका तृतीय सचिव विमलेशकुमार मिश्रले राहदानी तथा कन्सुलर सेवासम्बन्धी जानकारी दिएका थिए। कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष कार्यस्थल वा दैनिक जीवनमा हुने आकस्मिक घटनाहरूमा गरिने प्राथमिक उपचार (First Aid) सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नु थियो।
अन्तरक्रियामा सहभागी श्रमिकहरूले यस्ता सचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनीहरूले न्यूनतम पारिश्रमिकको कार्यान्वयन, श्रम मापदण्डको पालना र नेपाली श्रमिकको सीप एवं योगदानको सम्मानका लागि नेपाल सरकारले थप ठोस पहल गर्नुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसहित राजदूतावासका कूटनीतिक कर्मचारीहरूको उपस्थिति रहेको थियो।