काठमाडौँ । पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको चौथो वार्षिक साधारणसभामा आज ७० वर्षमाथिका पूर्व प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ ।
साधारणसभामा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहले नेपाल प्रहरी सदैव समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिँदै पूर्व प्रहरी कर्मचारीलाई पनि राष्ट्रको जिम्मेवारीप्रति संवेदनशील भई आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरे।
परिषद्का अध्यक्ष रमेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा परिषद्का वरिष्ठ उपाध्यक्ष डा चूडाबहादुर श्रेष्ठले आव २०७३-०७४ को कार्ययोजना, कोषाध्यक्ष केशवराज भट्टराईले आव २०७२-०७३ को लेखापरीक्षण प्रतिवेदन तथा आयव्यय विवरण र महासचिव सनन्दनप्रसाद कुर्मीले आव २०७२-०७३ को कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । रासस