arrow

तनहुँ जलविद्युत् आयोजनाले लियो गति

दमौली–भरतपुर प्रसारण लाइनको चितवन खण्डमा रुख कटान शुरू

एक हजार रुख कटिने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
krishnasar chitwan.jpg

काठमाडौँ ।  तनहुँ जलविद्युत् आयोजनाको महत्त्वपूर्ण हिस्साका रूपमा रहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा रहेको लामो समयको कानुनी अन्योल हटेको छ। डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गतेदेखि लागू हुने गरी प्रसारण लाइनको मार्गधिकारमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुखहरू कटान, मुछान र घाटगद्दी गर्न आयोजनालाई औपचारिक वन प्रवेश इजाजतपत्र प्रदान गरेको छ। 

आयोजना प्रमुख श्यामजी भण्डारीले वन कार्यालयसँगको यो सम्झौतासँगै निर्माण कार्यले अब थप गति लिने विश्वास व्यक्त गरेका छन्। यस प्रक्रियाअन्तर्गत भरतपुर महानगरपालिका–१ र २९ का विभिन्न संरक्षित तथा सामुदायिक वन क्षेत्रमा रहेका १ हजार २६३ रुखहरू कटान गरी सुरक्षित स्थानमा घाटगद्दी गरिनेछ।

मन्त्रिपरिषद्को २०७९ मङ्सिरको निर्णय अनुसार यो प्रसारण लाइन निर्माणका लागि चितवन र तनहुँ जिल्लाको कुल ९२.७३ हेक्टर वन क्षेत्र प्रयोग गर्न तथा त्यहाँका ९ हजार १२७ रुख हटाउन पहिले नै स्वीकृति दिइएको थियो। सोही आधारमा २०८२ पुस ३० गते आयोजना र वन तथा भूसंरक्षण विभागबिच भएको सम्झौतापछि अहिले रुख छपान र कटानको प्रक्रिया अघि बढेको हो। चितवन खण्डमा कटान सुरु हुन लाग्दा तनहुँ जिल्लातर्फ भने रुख छपानको कार्य हाल जारी रहेको आयोजनाले जनाएको छ। कुल ५० करोड ५० लाख अमेरिकी डलर लागतको यस बहुप्रतिक्षित आयोजनामा एसियाली विकास बैंक, जाइका, युरोपियन लगानी बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ।

आयोजना सम्पन्न भई विद्युत् उत्पादन सुरु भएपछि पहिलो १० वर्षसम्म वार्षिक औसत ५८ करोड ७७ लाख युनिट बिजुली उत्पादन हुने प्रक्षेपण गरिएको छ। यो आयोजना नेपालको ऊर्जा सुरक्षाका लागि मात्र नभई तल्लो तटीय क्षेत्रमा विकास गर्न लागिएको १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाका लागि समेत आधार स्तम्भ बन्ने देखिएको छ। प्रसारण लाइनको अवरोध हट्नुले आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने मार्ग सुनिश्चित गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ