राष्ट्रपति पौडेलले बालेन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
498
Shares
काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि शुरू भएको छ । सङ्घीय संसद्को संयुक्त बैठक अहिले बसिरहेको छ ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
सिंहदरबारस्थित प्रतिनिधि सभाको बहुउद्देश्यीय कक्षमा राष्ट्रपति पौडेलले बालेन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गरेका हुन् ।
संयुक्त बैठक सुरु हुनुअघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टाछुट्टै बैठकहरू सञ्चालन भएका थिए । प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइएको थियो । मन्त्रिपरिषद् हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई जानकारी गराइएको थियो ।
यस पटकको अधिवेशनमा सरकारले विभिन्न आठवटा महत्त्वपूर्ण अध्यादेशहरू पेस गर्ने तयारी गरेको छ। जसमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश २०८३ लगायत रहेका छन्।
यी अध्यादेशहरू प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनमा पेस गरिने जानकारी संसद् सचिवालयले दिएको छ। यो अधिवेशन मुख्य रूपमा आगामी आर्थिक वर्षको बजेट निर्माण र पारित गर्ने प्रक्रियामा केन्द्रित रहनेछ।