arrow

मनास्लु हिमाल आरोहणको ७० वर्ष पूरा

पहिलो आरोहीको सालिक अनावरण र विशेष सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
Manaslu-Region_file_photo.jpg

काठमाडौँ । विश्वको आठौँ अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) मा मानव पाइला परेको ७० वर्ष पुगेको अवसरमा गोरखा र पोखरामा विशेष कार्यक्रमहरू आयोजना गरिएका छन्। सन् १९५६ मे ९ मा पहिलो पटक जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ग्याल्जेन नोर्बु शेर्पाले यो हिमालको सफल आरोहण गरेका थिए।

यस ऐतिहासिक ७० वर्षको अवधिमा कुल तीन हजार ६४३ आरोहीले मनास्लुको शिखर चुमिसकेका छन्। पर्यटन विभागका अनुसार, सन् १९७३ अप्रिल २२ मा उर्केन छिरिङ शेर्पाले पहिलो नेपाली आरोहीका रूपमा मनास्लु आरोहण गरेर कीर्तिमान कायम गरेका थिए।

मनास्लु हीरक महोत्सवको अवसरमा चुमनुब्री गाउँपालिकाले आयोजना गरेको समारोहमा पहिलो आरोही तोसियो इमानिसी र पहिलो नेपाली आरोही उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रथम आरोहीका परिवारका सदस्यहरू—छोरा कुनियो इमानिसी र नाति रसोयुके इमानिसी—तथा नेपाली आरोही उर्गेनका छोरा छिरिङ शेर्पालाई सम्मान गरे।

समारोहमा सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामाका साथै अन्य आरोहीहरू नाङ्स्याल छेदेन र डिकी लामालाई पनि प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। यस्तै, नेपाल पर्वतारोहण सङ्घले पोखरामा आयोजना गरेको कार्यक्रममा मनास्लु हिमालको 'थ्री डी' फोटो सार्वजनिक गरिएको छ, जसले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्‍याउने विश्वास गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ