पर्बत । मुक्तिनाधामका पिठाधीश्वर स्वामी कमलनयनाचार्यले बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रलाई विश्वकै धार्मिक गन्तव्य स्थलको रुपमा विकास गर्न लागिएको बताएका छन् । पर्वतको कुश्मा स्थित रामजानकी मन्दिरमा पर्वतका धर्मअनुरागीहरुसँग साक्षत्कार गर्दै आचार्यले उक्त अभियानमा साथ दिन पर्वतवासीहरुलाई आग्रह पनि गरेका छन् ।
रामजानकी मन्दिरमा आयोजित कार्यक्रममा करिव दुईघण्टा प्रवचन सहित आफ्नो अभियानको बारेमा जानकारी दिएका स्वामी आचार्यले कालिगण्डकी नदी र यस आसपासको क्षेत्र पौराणिक कालदेखि नै पवित्र स्थलको रुपमा चर्चित रहेको र यसको महिमालाई उजागार गर्न पञ्चकोट क्षेत्र धार्मिक गन्तव्य हुने दावी गरे ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सहभागी व्यवस्थापिका संसद सदस्य एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले पञ्चकोटलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि वढाउन आफुले पहल गर्ने वताए । उनले धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पञ्चकोट क्षेत्र अत्यन्तै महत्वपूर्ण गन्तव्य स्थलको रुपमा विकास हुँदै गएको र यसले हामी सबैको गौरव वढाउने उल्लेख गरे ।
पञ्चकोटमा अर्वौं को पूर्वाधार निर्माण गर्ने संकल्प गरेका कमलनयन आचार्यलाई पर्वतवासीहरुले पनि सक्दो सहयोग गर्ने विश्वास दिलाएका थिए । प्रदेश नम्बर ४ का सांसदहरुसँग समन्वय गर्नका लागि सांसद अर्जुनप्रसाद जोशीलाई संयोजक तोकिएको छ । पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसाल सहित सरकारी कार्यालयका प्रमुखहरु, धार्मिक अगुवा, सर्वसाधारणहरुलाई सर्वसिद्धिधाम पञ्चकोटको महाप्रसाद र कालिगण्डकीको जलले अभिषेक गराइएको थियो ।
उक्त अवसरमा पञ्चकोट वृहत्तर विकासका लागि सहयोग पु¥याउन डाक्टर चुडामणी शर्मा आचार्यको संयोजकत्वमा पर्वत सम्पर्क समिति गठन भएको छ । समितिमा विश्व हिन्दु महासंघ, पत्रकार महासंघ, कानुन व्यवसायी, शिक्षक, धार्मिक समुहका प्रतिष्ठित व्याक्तिहरुलाई अन्य विभिन्न पदाधिकारी, सदस्य र सल्लाहाकारमा राखिएको छ । विश्व हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वामी कमलनयन आचार्यको अभियानका वारेमा स्वामी केदार देवकोटाले जानकारी गराएका थियो ।