काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सबै दल नमिले मुलुक गम्भीर दुर्घटनामा फस्न सक्ने बताएका छन् । कामनपा–३५ नरेफाँटस्थित नेपाल सेन्टल हाईस्कुलको १२औँ अभिभावक दिवसका अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले मुलुक राजनीतिक सङ्क्रमणबाट गुज्रिरहेको भन्दै सबै दल मिल्नुको विकल्प नरहेको बताए । उनले भने – “दलहरु आरोप प्रत्यारोपमा लाग्नुभन्दा मुलुकलाई समाधान दिनतर्फ लाग्नुपर्छ ।”
संविधान बनाउने दलहरु संविधान कार्यान्वयनमा समेत एकजुट हुनुपर्ने उनको भनाइ थियो । पूर्व उपप्रधानमन्त्री सिंहले दलको स्वार्थभन्दा राष्ट्रको स्वार्थलाई ध्यानमा राखेर अगाडि बढ्न दललाई आग्रह गरे। यसैबीच नेता सिंह आजै ज्येष्ठ नागरिक समाज पुरानो बानेश्वरको कार्यक्रममा समेत सहभागी भए ।
ज्येष्ठ नागरिक समाज पुरानो बानेश्वरले पुराना तथा चर्चित गायक हरिप्रसाद रिमालको घरमा आयोजित ‘ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य शिविर’मा हरिप्रसाद रिमाललाई सम्मान गरेको थियो । सो अवसरमा नेता सिंहले ज्येष्ठ नागरिकको सम्मान राज्यस्तरबाटै हुनुपर्ने बताए । रासस