arrow

वाग्मती सफाइ महाअभियानको २०० औँ हप्तामा नेपाल सफाइ सम्मेलन

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
bagmati-01.jpg.jpeg
काठमाडौँ। वाग्मती सफाइ महाअभियानको २०० औँ हप्ताको पूर्वसन्ध्यामा नेपाल सफाइ सम्मेलन आयोजना गरिने भएको छ । विसं २०७० जेठ ४ गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान फागुन २८ गते शनिबार २०० औँ हप्तामा प्रवेश गर्दैछ । यस अवसरमा पशुपति क्षेत्र विकास कोषको आयोजना र सहरी विकास एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा फागुन २७ गते शुक्रबार सफाइ सम्मेलन गरिने सफाइ महाअभियानले जनाएको छ । 
 
सफाइमा कोषका सदस्य सचिव डा गोविन्द टण्डनले ‘पानी र वाग्मतीको धार्मिक सांस्कृतिक महत्व’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दीनेश थपलियाले ‘वाग्मती सफाइमा नेपाल सरकारले लिएको स्वामित्व’ र गायत्री परिवारका डा राजु अधिकारीले ‘वाग्मती सफाइको सुरुआत, निरन्तरता र भविष्य’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । 
 
कार्यपत्रमाथि वाग्मतीको विषयमा अध्ययन अनुसन्धान गरिरहेका अमेरिकी नागरिक विलियम थोब्स र पूर्वसचिव किशोर थापाले टिप्पणी गर्ने कार्यक्रम रहेको कोषका सदस्य सचिव टण्डनले जानकारी दिए । सम्मेलनमा देशभर सञ्चालन भइरहेको नदी सफाइ अभियानका ५०० अभियन्ताको सहभागिता रहनेछ । सम्मेलन पशुपति क्षेत्रस्थित माधवराज सुमार्गी भवनमा आयोजना गरिनेछ । 
 
फागुन २६ गते वाग्मतीसम्बन्धी कवि सम्मेलन गरिनेछ । सम्मेलनमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीको समेत उपस्थिति हुने सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए । 
 
सफाइ महाअभियानको २०० औँ हप्ताका अवसरमा फागुन २८ गते शनिबार सुन्दरीजलदेखि चोभारसम्मका १८ स्थानमा विशेष कार्यक्रम गर्ने निर्णय शनिबार बसेको सफाइ महाअभियानको बैठकले गरेको छ । उपत्यकाका २५ स्थानमा सफाइ महाअभियान सुरु भएको २०० औँ हप्ताको स्वागतका लागि द्वार र सहभागी बन्न उपत्यकावासीमा आह्वान गरिएको तुल राखिने भएको छ । 
 
सफाइ महाअभियानको मूल कार्यक्रम शङ्खमुलमा गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ४ गतेदेखि आजसम्म वाग्मतीबाट छ हजार ५०० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मतीका सहायक नदीबाट समेत गरी आठ हजार मेट्रिकटन फोहर निकालिएको छ । हालसम्म पाँच लाखभन्दा बढीले वाग्मती सफाइमा सहभागिता जनाएको महाअभियानका अभियन्ता बोहराले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ