काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३३ वर्षअघि दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा श्रद्धेय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई गुमाउनुपरेको दुःखद क्षणको स्मरण गरेका छन्। मदन-आश्रितको ३३औँ स्मृति दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले समय बित्दै जाँदा पुराना घाउहरूको दुखाइ र अभाव अझ गहिरो हुँदै गएको बताए।
उनले घाउहरू पुराना भए पनि समय बित्दै जाँदा तिनको दुखाइका स्मृति झन् गाढा हुँदा रहेछन् भदै स्मरण गरे, ‘अभावहरू झन् गहिरिँदा रहेछन् । जननेता मदन भण्डारी मेरो नेता, साथी, सहयोद्धा-सबै हुनुहुन्थ्यो । जीवराज आश्रित कुशल संगठक हुनुहुन्थ्यो ।’
जननेता मदन भण्डारी आफ्नो नेता, साथी र सहयोद्धा तथा जीवराज आश्रित एक कुशल सङ्गठक भएको उल्लेख गर्दै ओलीले कम्युनिष्ट आन्दोलनलाई नयाँ वैचारिक दिशा दिन मदन भण्डारीले पुर्याएको योगदानको चर्चा गरे। भण्डारीको नेतृत्वमा निर्माण भएको 'जनताको बहुदलीय जनवाद' (जबज) ले विचारलाई युग अनुकूल मौलिक परिष्कार दिएको र परिवर्तनको सपनालाई जनताको जीवनसँग जोड्ने मार्गचित्र कोरेको उनको भनाइ छ।
अध्यक्ष ओलीले सोही विचारको धरातलमा टेकेर आफूहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानलाई अगाडि बढाएको र पछिल्लो दशकमा यसले देशको मानवीय तथा भौतिक पूर्वाधार विकासमा ठूलो परिवर्तन ल्याएको दाबी गरे। मदन-आश्रित लगायत आन्दोलनका अग्रज र योद्धाहरू शारीरिक रूपमा साथमा नरहे पनि उनीहरूको विचार र योगदान राजनीतिक यात्रामा सधैँ 'दीप स्तम्भ' झैँ मार्गदर्शक रहने उनले स्पष्ट पारे।
जनताको बहुदलीय जनवाद केवल एक सिजनको लोकप्रियता कमाउने औजार नभएर यथार्थको धरातलमा उभिएको कालजयी विचार भएको कुरामा अध्यक्ष ओलीले जोड दिएका छन्।