arrow

न्यूरोडका फुटपाथमा पार्किङ गरे कडा कारबाही हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
nagarpalika-pokhara.jpg

पोखरा । पोखरा महानगरपालिकाले न्युरोड क्षेत्रका फुटपाथ (सडकपेटी) मा हुने अनधिकृत पार्किङ हटाउने अभियानलाई तीव्र बनाएको छ ।

महानगरको वडा नं ८ र ९ अन्तर्गत पर्ने न्यूरोड क्षेत्रमा पैदलयात्रीलाई सहज आवतजावत गराउन सडकपेटी खाली गराउन थालिएको हो ।

नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले फुटपाथ पैदलयात्रीका लागि मात्रै भएकाले त्यहाँ सवारी पार्किङ गर्दा आवागमनमा अवरोध पुग्ने र दुर्घटनाको जोखिम बढ्ने बताए । उनले महानगरपालिकाले तोकेका निश्चित स्थानमा मात्रै पार्किङ गर्न र अन्यत्र सवारीधनी स्वयंले व्यवस्थापन गर्नुपर्ने स्पष्ट पारे ।

महानगरले अभियान शुरू गर्नुअघि गत शुक्रवारदेखि आइतबारसम्म लगातार तीन दिन माइकिङ गरेर नगरबासीलाई जानकारी गराएको थियो ।

सूचनाको अवज्ञा गर्ने सवारी साधनमाथि सोमबारदेखि कारबाही शुरू गरिएको छ । नगर प्रहरीका अनुसार सोमबार मात्रै फुटपाथमा पार्किङ गरिएका आठ ओटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

निरीक्षक थापाले फुटपाथ बाइक राख्ने ठाउँ नभई पैदलयात्रीका लागि बनाइएको संरचना भएकाले महानगरले तोकेका स्थानमै पार्किङ गर्न आग्रह गरे । उनले दीर्घकालीन पार्किङ व्यवस्थापन नभएसम्म फुटपाथ पूर्ण रूपमा खाली राखिने बताए ।

नगर प्रहरीले मंगलबारदेखि थप कडाइ गरिने जनाएको छ । अब फुटपाथमा पार्किङ गरिएको पाइएमा सवारीधनीलाई तत्काल सवारी नबुझाइने र ती साधन नियन्त्रणमा लिएर जिल्ला ट्राफिक प्रहरी कार्यालय पठाई नियमानुसार कारबाही गरिने महानगरको भनाइ छ ।

महानगरपालिकाले सडकपेटी खाली गराई सडक चाप र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग गर्न सम्पूर्ण सवारीधनी तथा नगरबासीलाई आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ