arrow

कोइराला निवास पुगेका गगनले भने- भदौ २४ को वितण्डा ढाकछोप गर्न सरकार लागिपर्‍यो [भिडियो]

मानवअधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
gagan-thapa-09.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति गगन थापाले जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताएका छन्। शनिबार विराटनगरको कोइराला निवास पुगेका सभापति थापाले वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको आरोप लगाएका हुन्।

भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको स्वीकार गर्दै उनले त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताए। तर, भदौ २४ गते कोइराला निवासदेखि चाक्सीबारी, र सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको तोडफोड, आगजनी र हिंसाबारे राज्य मौन बसेको उनको आरोप छ।

भदौ २४ गतेको वितण्डामा थुप्रै युवा र प्रहरीहरू मारिएका उल्लेख गर्दै उनले त्यसको सत्यतथ्य बाहिर ल्याउने प्रयास राज्यले नगरेको गुनासो गरे। नेपाली कांग्रेसले विशेष महाधिवेशनपछिको पहिलो बैठकदेखि नै यस घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएको उनले स्मरण गराए।

उनले भने, “भदौ २४ गते नेपालमा जुन वितण्डा भयो, त्यो वितण्डाको हिसाब-किताब हुन अझै बाँकी छ। सरकारले आफ्नो सय दिने कार्यक्रम सार्वजनिक गर्दा र गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन बुझ्दै गर्दा भदौ २४ गतेको अनुसन्धान गर्न छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो। तर अहिले सबैले यसलाई ढाकछोप गर्ने प्रयत्न गरेका छन्, जुन स्वीकार्य छैन। त्यसैले तत्काल एउटा न्यायिक छानबिन आयोग बन्नुपर्छ र उपद्रो तथा आतङ्क मच्चाउनेहरू कानुनी कठघरामा आउनुपर्छ।”

सभापति थापाले राष्ट्रिय मानवअधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गरेका छन्। सरकारले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्नेमा उल्टै प्रतिवेदन सार्वजनिक नगर्न र त्यसमा भएका कुराहरू सच्याउन आयोगमाथि ठुलो दबाब सिर्जना गरेको उनले दाबी गरे। "यदि हाम्रो कुरा गलत हो भने तत्काल प्रतिवेदन सार्वजनिक होस्," थापाले चुनौती दिए。

संविधान अनुसार सरकार चल्नुपर्नेमा जोड दिँदै उनले प्रतिपक्षले सरकारलाई सहयोग गरिरहेकाले सरकारले पनि प्रतिपक्षीको आवाज सुन्नुपर्ने बताए। राष्ट्रियसभामा प्रतिपक्षी दलहरूले चाहेको भए सरकारको नीति तथा कार्यक्रम अस्वीकृत हुन सक्ने अवस्था रहेको जानकारी दिँदै उनले कांग्रेसले नीति तथा कार्यक्रममा विमति हुँदाहुँदै पनि पारित गरेर सरकारलाई सहयोग गरेको स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ