arrow

'सरकारले बैशाख ३१ पछि मात्रै संशोधन प्रक्रिया अघि बढाउने'

logo
प्रकाशित २०७३ फागुन २३ सोमबार
sambidhan-samsodhan-750-1.jpeg
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था नदेखिएकोले तत्काललाई स्थगन गरी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भईसकेपछि प्रदेश र केन्द्रीय संसदको निर्वाचन अघि पारित गराउने गृहकार्यमा सरकार लागेको बताएका छन् । 
 
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले सकेसम्म सरकारले निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित गराउन प्रयास गर्ने नभए स्थानीय तहको निर्वाचन पछि नै पारित गराउने गरिको विकल्पमा समेत सरकारले गृहकार्य गरिरहेको जनाए । 
 
उनले भने, ‘संशोधन प्रस्ताव अहिले सहमति नगरीकन पारित हुने अवस्था छैन, त्यसैले पारित गराउनको लागि सरकारले अहिले गृहकार्य गरिरहेको छ, यदि त्यसो हुन सकेन भने प्रदेश र केन्द्रको चुनावभन्दा अघि नै संशोधन प्रस्ताव पारित गराउन सकिन्छ ।’
साक्षात्कारमा बोल्दै मन्त्री नायकले संविधान कार्यान्वयनका लागि पनि चुनाव प्राथमिकतामा भएको स्पष्ट पारे ।
 
उनले भने, ‘यो सरकार गठन भएदेखि नै हाम्रो ध्यान भनेको समयमै तीन वटै निकायको चुनाव गराउनुपर्छ भन्नेतिर नै छ, यसको लागि वातावरण बनाउनुपर्नेमा हामीले जोड दिँदै आएका छौं, यो कुरा कसैबाटपनि छिपेको छैन, तर चुनावको वातावरणको लागि राष्ट्रिय राजनीतिक सहमति खोज्ने हाम्रो अहिलेपनि प्रयत्न हो, त्यसैको लागि हामीले संशोधन प्रस्ताव अघि सारेका हौं ।’
 
उनले चुनावको लागि साझा मिलनविन्दु पहिल्याउन प्रमुख प्रतिपक्षी दल र मधेशी मोर्चावीच सहमति हुन जरुरी रहेको बताउँदै भने,‘एउटा संविधान संशोधनको कुरै सुन्न चाहँदैन्, अर्को हामीले भनेको भएन भने मान्दैनौं भन्छ, यी दुई वटै अति हुन्, हामीलाई अहिले शंका छ, कतै दुईवटै अतिको केन्द्र त एउटै होईन भनेर ?’
 
मन्त्री नायकले कसैलेपनि अतिमा केन्द्रित भएर सोच्न नहुने धारणा राखे। उनले भने,‘सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ, यो मिति लागु हुन्छ, तलमाथि हुँदैन्, सरकारले राष्ट्रलाई बल पुर्याउनको लागि नै काम गरिरहेको छ।’ उनले मुलुकको समस्याको समाधानको लागि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकतम सहमतिको प्रयास खोजिरहेको समेत स्पष्ट पारे।
 
उनले चुनावको मिति घोषणा गरिसकेपछि प्रधानमन्त्री प्रचण्डलाई सबैले धन्यवाद दिएझैं अब सहयोग गर्न समेत आग्रह गरे। उनले भने,‘हिजो निर्वाचनको मिति घोषणा नगर्दा, हुँदैन कि भनेर शंका गरियो, अब मिति घोषणा भैसक्यो, फेरि पनि निर्वाचन हुँदैन कि भनेर शंका÷उपशंका गर्नुहुँदैन, बरु सबैले राष्ट्रिय नेताको भूमिका निर्वाह गर्नुपर्छ।’
 
उनले स्थानीय तह पूर्नसंरचनाको संख्या जनसंख्याको आधारमा थप गरिसकेको जनाउँदै भने,‘अहिलेपनि जनसंख्याको आधारमा युनिटहरु बनाउने कुरामा हामी लचिलो छौं, आयोगले सिफारिश गरेको संख्या बढाएर अहिले ७४४ पुर्याईएको छ।’
मन्त्री नायकले एमालेले मधेशमा शान्तिपूर्ण आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न पाउने बताउँदै भने,‘एमाले यो देशको राष्ट्रिय पार्टी हो, शान्तिपूर्ण कार्यक्रमहरु गर्न पाउँछ, एमालेको कार्यक्रमलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको हो, हामी प्रतिबद्ध छौं।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ