काठमाडौँ। सरकारले सरकारी कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको जानकारी दिए ।
यस्तै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउने छन् । वाग्लेले न्यूनतम ४० हजारदेखि अधिकतम एक लाखभन्दा बढी कायम गरिएको पनि जानकारी दिए ।
वाग्लेले भने, “कर्मचारीले हाल प्राप्त गरिरहेको महङ्गी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा १० प्रतिशत तलब वृद्धि गरेको छु, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्न नयाँ तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु ।”
पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभएको, यस अवधिमा उपभोक्ता मूल्य वृद्धि सचकाङ्कमा आधारित मूल्य वृद्धि १७.३ प्रतिशत भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनस्र्थापना गर्नुपर्ने महसुस गरी तलब वृद्धि गरेको मन्त्री वाग्लेको भनाइ छ ।
सरकारले कर्मचारीको चलब बढाएसँगै महंगी पनि बढ्ने आँकलन गरिएको छ। यसले सर्वसाधारणमा भने गम्भीर असर पर्ने देखिएको थियो ।