गरिबी निवारणका नाममा गरिबलाई विस्थापित गर्नु सरकारको कमजोरी : गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
589
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गरिबी र गरिबबीचको आधारभूत भिन्नता बुझ्न नसक्दा समस्या उत्पन्न भएको बताएका छन्।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले सरकारको हस्तक्षेप गरिबी निवारणतर्फ केन्द्रित हुनुपर्नेमा गरिब नागरिकलाई नै विस्थापित गर्ने दिशामा गएको भन्दै आलोचना गरे।
सुकुमवासी तथा भूमिहीन नागरिकका समस्यालाई मानवीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले सफाइ वा व्यवस्थापनका नाममा नागरिकलाई उठिबास लगाउनु उचित नहुने बताए। प्रतिपक्षी दलको हैसियतले सरकारलाई सचेत गराउनु र सही बाटो देखाउनु आफ्नो दलको दायित्व रहेको उनको भनाइ थियो।
खोला किनार तथा विभिन्न बस्तीमा चलाइएको डोजर अभियानप्रति संकेत गर्दै थापाले यस्तो कार्यले प्रभावित नागरिकमा गम्भीर मनोवैज्ञानिक असर परेको बताए।
उनका अनुसार घरबारको टुंगो नलाग्दा, छोराछोरीको शिक्षा र दैनिक जीविकोपार्जन अनिश्चित बन्दा नागरिकमा तनाव, चिन्ता र अवसादका समस्या बढिरहेका छन्।
“गरिब र गरिबी फरक कुरा हुन्। राज्यले गरिबीविरुद्ध लड्नुपर्छ, गरिबविरुद्ध होइन,” थापाले भने, “खोला किनारका बस्ती कसैलाई सामान्य लाग्न सक्छन्, तर त्यहाँ बस्नेहरूका लागि त्यो नै घर हो। रातारात घर भत्काउँदा उनीहरूले भोग्ने मानसिक पीडाप्रति राज्य संवेदनशील हुनुपर्छ।”
थापाले काँग्रेसका प्रतिनिधिहरूले होल्डिङ सेन्टर तथा प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरेको जानकारी दिँदै सरकारी अवरोधका कारण सबै स्थानमा सहज रूपमा अध्ययन गर्न नसकिए पनि प्राप्त तथ्यांकले विस्थापित नागरिकको अवस्था चिन्ताजनक रहेको संकेत गरेको बताए।
नागरिकका समस्या र पीडाप्रति सहानुभूति राख्दै उनीहरूको न्याय र अधिकारका लागि नेपाली काँग्रेस सधैं उभिने उनले बताए।