arrow

साफ महिला च्याम्पियनसिप

रेनुकाको कप्तानीमा नेपाली टोली सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
nepal-myanmanr-women-footba.jpg

काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलका लागि श्रीलङ्काविरुद्ध नेपालको सुरुआती ११ सदस्यीय (प्लेइङ एघार) टोलीको नाम सार्वजनिक भएको छ। भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू रङ्गशालामा नेपाली टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले श्रीलङ्काविरुद्धको खेलका लागि नेपालको सुरुआती टोली तय गरेका छन्।

यसअनुसार गोलरक्षकको जिम्मेवारी अञ्जना रानामगरले पाउनुभएको छ भने टोलीको कप्तानी रेनुका नगरकोटेले गर्नेछिन् । सुरुआती टोलीमा अञ्जना र रेनुकासँगै विमला विके, हिराकुमारी भुजेल, सरु लिम्बू, गीता राना, रेखा पौडेल, मीना देउवा, प्रतीक्षा चौधरी, रश्मिकुमारी घिसिङ र दीपा शाही रहेका छन्। यसैगरी वैकल्पिक खेलाडीहरूमा उषा नाथ, पूजा राना, समीक्षा घिमिरे, सविना चौधरी, अनिता केसी, पूर्णिमा राई, अनिता बस्नेत, अञ्जिला तुम्बापो सुब्बा, बिर्सना चौधरी, निशा ठोकर र अनिता लाम्जेल रहेका छन्।

नेपाली टोलीका मुख्य खेलाडी सावित्रा भण्डारी चोटका कारण यसपटक प्रतियोगितामा सहभागी हुनुहुन्न भने कम्बोडियाको क्लबमा आबद्ध प्रिती राई पनि आजको खेलमा उपलब्ध हुनुहुने छैन। भुटानविरुद्धको पहिलो खेलमा १–० को जित निकालेको नेपाली टोली आज दोस्रो जित दर्ता गर्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रँदै छ। हालसम्मको इतिहास हेर्दा नेपालले श्रीलङ्कालाई सधैँ पराजित गर्दै आएको छ र यसअघि सन् २०२५ मा भएको एएफसी महिला एसियन छनोटमा पनि नेपालले श्रीलङ्कालाई हराएको थियो। नेपाल आज पनि सोही साख र लयलाई दोहोर्‍याउने दाउमा छ।

यस साफ च्याम्पियनसिपमा कुल छ राष्ट्र सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘ए’ मा रहेको छ र यस समूहमा नेपालसँगै भुटान र श्रीलङ्का छन्। प्रतियोगितामा श्रीलङ्कालाई ४–० गोलअन्तरले पराजित गरेको भुटान तीन अङ्कका साथ गोलअन्तरको आधारमा तालिकाको शीर्ष स्थानमा छ। भुटानमाथि १–० को जित निकालेको नेपालको पनि समान तीन अङ्क भए तापनि गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ भने श्रीलङ्का अङ्कविहीन बन्दै तेस्रो स्थानमा रहेको छ।

यसैगरी समूह ‘बी’ मा आयोजक भारत, बङ्गलादेश र माल्दिभ्स रहेका छन्। दुवै समूहका शीर्ष दुई स्थान हासिल गर्ने टोलीहरूले सेमिफाइनलको यात्रा तय गर्नेछन्। नेपाल र श्रीलङ्काबिचको यो महत्त्वपूर्ण खेल स्थानीय समयअनुसार अहिले साँझ ४:३० बजेदेखि सुरु हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ