वीरगञ्ज नाकाबाट १० महिनामै भित्रिए चार अर्ब बढीका ईभी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
712
Shares
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै विद्युतीय सवारीसाधन (ईभी) को आयातमा उल्लेखनीय वृद्धि भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार यस अवधिमा वीरगञ्ज हुँदै रु ४ अर्ब २ करोडभन्दा बढी मूल्यका विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात रु २ अर्ब ३७ करोड अर्थात् १४३ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ
। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा यस नाका हुँदै कुल १५ हजार २७१ वटा विभिन्न थरीका विद्युतीय सवारीसाधन आयात गरिएको छ र सोबाट प्राप्त हुने राजस्वमा समेत उल्लेखनीय वृद्धि भएको छ। गत आवको १० महिनामा यो नाका हुँदै रु १ अर्ब ६५ करोड मूल्य पर्ने ९ हजार ४२ वटा विभिन्न विद्युतीय सवारीसाधन आयात गरिएका थिए भने त्यसवापत रु ८१ करोड ४७ लाख राजस्व सङ्कलन भएको थियो।
चालु आवको १० महिनामा रु १ अर्ब ८७ करोड मूल्य पर्ने ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान आयात भएका छन्, जसवापत रु १ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ। जबकी गत आवको १० महिनामा भने रु २ करोड ६ लाख मूल्य पर्ने यस्ता क्षमताका ६ वटा मात्र विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो।
यस्तै चालु आवको १० महिनामा रु १ अर्ब १७ करोड मूल्य पर्ने ८ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर आयात हुँदा रु ३८ करोड ५५ लाख राजस्व सङ्कलन भएको छ। गत आवको सोही अवधिमा रु ९६ लाख मूल्य पर्ने ४ हजार ८३४ वटा विद्युतीय मोटरसाइकल र स्कुटर आयात भएका थिए र ती सवारीसाधनको आयातबाट मात्रै रु २० करोड १५ लाख राजस्व सङ्कलन भएको थियो।
ईभीका अतिरिक्त यो नाका हुँदै चालु आवको १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्य पर्ने इन्धन र विद्युत्बाट चल्ने सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन्। गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात रु ९ अर्ब ६५ करोड अर्थात् ४४ दशमलव ५८ प्रतिशतले बढेको छ। चालु आवको १० महिनामा वीरगञ्ज हुँदै रु १ अर्ब २५ करोड मूल्य पर्ने ६२८ वटा जीप, कार र भ्यानको आयात भएको छ र त्यसवापत कार्यालयले रु ३ अर्ब १७ करोड राजस्व सङ्कलन गरेको छ।
जबकी गत आवको सोही अवधिमा रु १ अर्ब ८१ करोड मूल्य पर्ने ८५५ वटा जीप, कार र भ्यानको आयात भएका थिए। यस्तै, चालु आवको १० महिनामा रु ७ अर्ब ३२ करोड मूल्य पर्ने ५१ हजार ४२३ वटा मोटरसाइकल (अन एसेम्बल्ड) आयात भएका छन् र त्यसवापत रु ७ अर्ब नौ करोड राजस्व सङ्कलन भएको छ। गत आवको सोही अवधिमा भने रु ५ अर्ब २१ करोड मूल्यका यस्ता मोटरसाइकल आयात भएका थिए।