arrow

काभ्रेकै सदरमुकामबाट १६ किमिमा मोटर पुग्दा अबीरजात्रा गरेर खुसियाली

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
bus-pushing-muddy-road-okhaldhunga.jpeg
धुलिखेल । गाउँमा पहिलो पटक यात्रुबाहक गाडी पुग्दा स्थानीयवासीले खुुसी साटासाट गरी रमाइलो मनाएका छन् । जिल्ला सदरमुकामबाट १६ किलोमिटर मात्रै टाढाको दूरीमा रहेको बल्थली गाविस र महाँकालचौर गाविसको सिमानामा पर्ने टोड्केमा अहिलेसम्म ठूलो गाडी पुगेको थिएन । आइतबार मात्रै सो ठाउँसम्म पहिलो पटक बिहेको जन्तीसहित गाडी पुग्दा स्थानीयवासीले चालकलाई खादा र अबीर लगाई स्वागत गरेका छन् । 
 
त्यससँगै आपसमा नाचगान गरेर स्थानीयले खुसियाली मनाए । उक्त गाउँमा मोटरबाटो बनाएर सम्पन्न भएकै बेलामा त्यहाँस्थित महाँकालचौर–६ भञ्ज्याङखर्कका राजन तामाङको बिहेको रिजर्भ गाडी पहिलो पटक पुगेको हो । पहिलो पटक गाउँमा गाडी आएकाले खुसी लागेको भन्दै आफूहरूले गाडीका चालक पनौती–४ का रामशरण केसीलाई खादा र अबीर लगाई स्वागत गर्दै नाचगान गरेको स्थानीय उमेश लामाले बताए । 
 
लामाले भने “हाम्रो गाउँमा यसअघि साना गाडी मात्र आउँथ्यो, अहिले राम्रो मोटरबाटो बनेसँगै हिम्मत गरेर जन्तीको रिजर्भ गरी बल्थलीबाट लगेको गाडी सिसाखानीबाट फर्किँदा टोड्के गाउँसम्म पुगेका हुन् ।” सहरबाट गाउँ र गाउँबाट सहर बजार हिँड्ने बेलामा कठिनाइ भइरहेको अवस्थामा पहिलोपटक गाउँमा नै गाडी पुगेकोमा यहाँका बासिन्दा अत्यन्त खुसी भएका छन् । 
 
नियमित बस सञ्चालन गर्न माग 
बिहेको रिजर्भको गाडी पहिलो पटक गाउँमा पुगेपछि स्थानीयले खुसीसँगै गाउँमा गाडी सञ्चालनका लागि माग गरेका छन् । गाउँमै गाडी नपुग्दा सदरमुकाम र बजारसम्म पुग्नको लागि पैदल हिँडेर कठिनाइ खेप्नुपथ्र्यो । अहिले यात्रुबाहक बस नै पुगेपछि उनीहरुले सधैँ बस सञ्चालन हुने वातावरण मिलाइदिन सम्बन्धित निकायसँग माग गरेका हुन् । 
 
“अब यात्रुबाहक बस गाउँसम्म चल्न थाले, बस सेवा समितिसँग कुरा राख्नुपर्छ,” स्थानीय विक्रम केसीले भने । गाडी गाउँमा पु¥याउँदा खुसी हुँदै स्थानीयले खादासहित अबीर लगाई स्वागत गरेपछि चालक रामशरण केसीले स्थानीयको माग पूरा भए आफूले सो रुटमा गाडी चलाएर सहज बनाइदिने बताए ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ