ओली भन्छन्- भदौ २३ र २४ का घटना सरकार ढाल्न रचिएको पूर्वनियोजित र आपराधिक षड्यन्त्र
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
2.8k
Shares
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेका घटनाहरू सामान्य आन्दोलन या क्रान्ति नभई तत्कालीन सरकारलाई विस्थापित गर्न रचिएको पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनको सारसंक्षेपलाई उद्धृत गर्दै अध्यक्ष ओलीले ती घटनाहरू प्रायोजित र आपराधिक क्रियाकलापको हिस्सा भएको बताएका हुन्।
संवैधानिक र लोकतान्त्रिक रूपमा बलियो तथा जननिर्वाचित बहुमत प्राप्त सरकारलाई कानुनी र संसदीय प्रक्रियाबाट ढाल्न नसकेपछि अवैधानिक र आपराधिक मार्ग अपनाइएको ओलीको तर्क छ।
अध्यक्ष ओलीका अनुसार ती घटनाहरूको पृष्ठभूमिमा लामो समयदेखि तालिम र प्राविधिक तयारीहरू गरिएका थिए। आगो लगाउने विधि, पेट्रोल बम निर्माण र प्रज्वलनशील पदार्थलाई थप घातक बनाउने जस्ता प्रशिक्षण पहिले नै दिइएको उनले उल्लेख गरे।
यो कुनै आकस्मिक घटना नभई सुनियोजित रूपमा अघि बढाइएको भन्दै ओलीले भने, "गुगलको माध्यमबाट कुन-कुन नेताका घर कहाँ छन् भन्ने जानकारी सङ्कलन गरिएको थियो। संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत त सबैलाई देखिएकै थिए, तर नेताहरूका घर र सम्पत्तिहरू गल्लीभित्र हुने भएकाले तिनीहरूलाई गुगलमार्फत पहिचान गरी जानकारी वितरण गरिएको थियो।"
अध्यक्ष ओलीले लोकप्रिय नेताहरूलाई अलोकप्रिय बनाउन र उनीहरूका विरुद्ध झुटा तथा बनावटी आरोपहरू लगाएर जनमत प्रभावित पार्ने प्रपञ्च समेत सोही योजनाको हिस्सा भएको जिकिर गरे। युवाहरू तथा नवयुवाहरूको हत्याको प्रपञ्च गराउने क्रियाकलापलाई गर्नेहरूले क्रान्तिको नाम दिएको उनको भनाइ छ।
आपराधिक क्रियाकलापको आयोजना आफैँ गर्ने र दोष भने अरूलाई थोपर्ने प्रवृत्ति देखिएको भन्दै ओलीले सो घटनालाई ‘काँक्रो खाएर बियाँ अर्काको गालामा टाँस्ने’ प्रयासको रूपमा चित्रण गरे। यस्ता षड्यन्त्र र धक्काहरूका विरुद्ध पार्टी सचेत रहँदै अघि बढ्ने उनले स्पष्ट पारेका छन्।