arrow

भण्डारीको सदस्यता ब्युँतिएपछि ओलीको व्यङ्ग्य: "हामीले जित्यौँ भन्दै कोही विजयी सिकन्दर पल्टिनु पर्दैन"

ओलीको निर्देशन: "खोचे थाप्ने र निहुँ खोज्ने प्रवृत्ति छोडिदिऊँ, स-साना विषयमा नअल्झिऊँ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
uml-oli-bhandari-meet-party-office-2082.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र पुनर्बहालीको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम र राजनीतिक वृत्तमा भइरहेका टिकाटिप्पणीप्रति आपत्ति जनाएका छन्। उनले यस विषयलाई लिएर अनावश्यक भ्रम नफैलाउन समेत आग्रह गरेका छन्।

बुधबार काठमाडौँमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारी वि।सं। २०३४ सालदेखि आन्दोलनमा सक्रिय रहेको र २०३७ सालदेखि नै पार्टीको आधिकारिक सदस्य रहेको ऐतिहासिक तथ्यलाई भुल्न नहुने स्पष्ट पारे।

पूर्वराष्ट्रपति भण्डारीको सदस्यता ब्युँतिएपछि केही पक्षले यसलाई आफ्नो 'राजनीतिक विजय' का रूपमा प्रस्तुत गरेकोप्रति लक्षित गर्दै अध्यक्ष ओलीले टिप्पणी गरे। उनले यो कुनै हारजितको प्रश्न नभई केवल एउटा स्वाभाविक र कानुनी प्रक्रिया मात्र भएको जिकिर गरे।

"अहिले सदस्यता नवीकरण भयो भनेर कोही 'हामीले जित्यौँ' भन्दै विजयी सिकन्दर (अलेक्जेन्डर द ग्रेट) पल्टिरहेका छन्," ओलीले व्यङ्ग्य गर्दै भने, "यस्तो केही आवश्यकता नै छैन, यो हारजितको प्रश्नै होइन। त्यसकारण यस्ता कुराहरूमा नबहकिन म साथीहरूलाई आग्रह गर्न चाहन्छु।"

राष्ट्रपति पदको गरिमा, तटस्थता र संवैधानिक व्यवस्था बमोजिम नै भण्डारीले तत्कालीन समयमा पार्टी सदस्यता त्याग्नुभएको ओलीले स्मरण गराए।

उनले प्रक्रियाबारे प्रष्ट पार्दै भने, "उहाँ राष्ट्रपति भएका बेला सदस्य हुनुहुन्नथ्यो र नभएको सदस्यता सीधै नवीकरण हुँदैनथ्यो। हाम्रो केन्द्रीय कमिटीले एउटा आवेदन दिनुस्, कमिटीले विचार गर्छ भनेको थियो। अस्ति भर्खर उहाँले आवेदन दिनुभयो र कमिटीले सदस्यता दियो। उहाँले पार्टी मन नपराएर छोड्नुभएको होइन, पार्टीले नै राष्ट्रपति जस्तो तटस्थ पदको जिम्मेवारी वहन गर्न पठाएकाले सदस्यता त्याग्नुभएको हो।" राष्ट्रपति पदबाट बाहिरिएपछि उनले पुनः सदस्यता पाउनु स्वाभाविक भएको र यसमा उनको वि।सं। २०३७ सालकै सदस्यताको निरन्तरता (कन्टिन्युटी) रहने ओलीले बताए।

अध्यक्ष ओलीले पार्टी पंक्तिलाई स-साना र प्रक्रियागत विषयमा अल्झिएर खोचे थाप्ने वा निहुँ खोज्ने प्रवृत्ति त्याग्न निर्देशन दिएका छन्। हरेक कुरामा विवाद झिक्नु एमालेको तरिका नभएको भन्दै उनले संगठन सुदृढीकरण र विचारको एकतामा केन्द्रित हुन आग्रह गरे।

"हामी विचारमा एकताबद्ध हौँ, संगठनलाई एकताबद्ध गरौँ," ओलीले कार्यकर्ताहरूलाई आह्वान गर्दै भने, "संगठनको विधि, प्रक्रिया, पद्धति र अनुशासनअनुसार चलौँ र संघर्षका लागि उच्च मनोबलका साथ तयार हौँ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ