काठमाडौँ । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लु) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डा। समिरकुमार अधिकारीले मनसुन सुरु भएसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेकाले यसबाट जोगिन आवश्यक तयारी र सतर्कता अपनाउन आग्रह गरे।
सरकारले लूको बढी जोखिम रहेका तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको उनले बताए।
डा। अधिकारीका अनुसार दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिइएको छ। तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।
बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले विशेष ध्यान दिनुपर्ने र यस्तो अवस्थामा स्वास्थ्यलाई थप असर गर्ने धूम्रपान तथा मद्यपानबाट टाढा रहन समेत उनले आग्रह गरे। स्वास्थ्यमा कुनै पनि असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन मन्त्रालयले अनुरोध गरेको छ।
तापलहर (लु) भनेको लामो समयसम्म अत्यधिक गर्मी रहने अवस्था हो, जुन प्रायः उच्च आर्द्रतासँगै देखिन्छ। कुनै निश्चित क्षेत्रको सामान्य औसत तापक्रमभन्दा निकै माथि तापक्रम पुगेको अवस्थालाई लू भनिन्छ। जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धि भइरहेकाले पछिल्लो समय तापलहरको जोखिम बढ्दै गइरहेको छ।
यसले शरीरमा पानीको कमी (डिहाइड्रेसन) र हिटस्ट्रोक मात्र नभई मुटुसम्बन्धी समस्याको जोखिम समेत बढाउन सक्ने विज्ञहरूको चेतावनी छ। विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रम लू चल्नुको मुख्य कारण भए पनि पछिल्लो समय अव्यवस्थित सहरीकरणका कारण कङ्क्रिटका भवन र सडकहरूले ताप सोस्ने हुँदा सहरहरूमा यसको जोखिम अत्यधिक हुने गर्दछ। त्यस्तै तीव्र रूपमा भइरहेको वन फँडानीका कारण प्राकृतिक चिसोपन घटेर पनि तातो लहर चल्ने गर्छ।
लू लाग्दा शरीरमा विभिन्न लक्षणहरू देखा पर्छन् जसमा अत्यधिक तिर्खा लाग्नु, मुख सुक्नु र अत्यधिक थकान महसुस हुनु जस्ता डिहाइड्रेसनका समस्याहरू प्रमुख हुन्। गर्मीजन्य थकानका कारण रिङ्गटा लाग्नु, धेरै पसिना आउनु र कमजोरी महसुस हुनुका साथै शरीरको तापक्रम अत्यधिक बढेर बिरामी अन्योल हुने वा बेहोस हुने जस्ता हिटस्ट्रोकको जोखिम पनि रहन्छ। यसै गरी मुटुमा दबाब परी मुटुको धड्कन तीव्र रूपमा बढ्नु र छातीमा असहजता हुनु पनि यसका लक्षणहरू हुन्।
यस तापलहरबाट बच्नका लागि दिउँसोको अत्यधिक गर्मी हुने समयमा बिनाकाम घरबाहिर निस्कनु हुँदैन। बाहिर निस्कनै परे हल्का र खुकुलो सुतीको कपडा लगाउने, शरीरमा पानीको मात्रा पर्याप्त राख्न नियमित पानी र झोलिलो पदार्थ पिउने तथा चिसो वा छायाँयुक्त स्थानमा बस्ने एवं सम्भव भएसम्म पंखा वा एयर कन्डिसनर प्रयोग गर्नु उपर्युक्त हुन्छ।
गर्मीको समयमा हल्का तथा पौष्टिक खाना खाने, अत्यधिक शारीरिक श्रम नगर्ने र दीर्घरोगीहरूले चिकित्सकको सल्लाहअनुसार औषधि नियमित सेवन गर्दै रक्तचाप र रक्तशर्कराको नियमित निगरानी गर्नुपर्छ।