arrow

ग्लोबल आईएमई बैंकको अगुवाइमा सुपर तमोर हाइड्रोका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
global-ime-bank-financial-closure-supper-tamor-hydro-june-2026.jpg

ग्लोबल आईएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र सहभागी बैंकहरूबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । 

उक्त सम्झौतामा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दिपचन्द्र रेग्मी र क्रिष्टल पावर डेभलपमेण्ट प्रालिका कार्यकारी प्रमुख कृष्णप्रसाद आचार्यलगायत सहअगुवाई तथा सहभागी बैंकहरूका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । 

कूल २५ अर्ब रुपैयाँ अनुमानित लागत रहेको उक्त आयोजनामा ग्लोबल आईएमई बैंकको अगुवाइ, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक सहअगुवाई र कृषि विकास बैंक र नेपाल एसबिआई बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करिब १९ अर्ब रुपैयाँ लगानी गर्नेछ । 

जसमध्ये ग्लोबल आईएमई बैंकले ५ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ४ अर्ब रुपैयाँ, प्रभु बैंकले ३ अर्ब ५० करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५० करोड तथा नेपाल एसबिआई बैंक १ अर्ब रुपैयाँ लगानी गर्ने छन् ।   

सम्झौतापश्चात् ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले यस आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन क्षमतामा वृद्धिहुने र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास बैंकको रहेको बताए । साथै यस आयोजनाको लागि शुभकामना व्यक्त गरे ।

ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाँउपालिकाकास्थित तमोर नदीमा निमार्ण हुने १६६ मेगावाट क्षमताको जलविद्युत आयोजनाको अनुमानित लागत २५ अर्ब रुपैयाँ रहेको छ । 

सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम संस्थापक तथा अन्य लगानीकर्ताबाट लगानी व्यवस्थापन गरिनेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ५ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको बताइएको छ । 

ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४, २०२५ र २०२६, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ । 

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३४४ शाखा कार्यालय, ३८५ एटिएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ