arrow

सप्तरी घटनाको बारेमा छानविन समिति बन्ने

मृतकका परिवारलाई शहीद सरह क्षतिपूर्ति

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
Home_ministry_nepal.jpg.jpeg
काठमाडौं । उपप्रधान तथा  गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीमा सोमबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै त्यहाँको स्थिती सहज अबस्थामा फर्काउन सबैको सहयोग आवश्यक भएको बताएका छन् । झडपका क्रममा सुरक्षाकर्मीको गोलीबाट तीन जनाको मृत्यु भएपछि न्यायिक छानविनको माग गर्दै मंगलबार दिउँसो गृहमन्त्रीलाई भेट्न पुगेका प्रदेश नम्बर २ का कांग्रेस सांसदहरुलाई मन्त्री निधिले सहयोगका लागि आग्रह गरेका हुन् । भेटमा सांसदहरुले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका थिए । 
 
सांसदहरुले एमाले नेताहरुको मधेस विरोधी उत्तेजक अभिव्यक्तिका कारण मधेसका जनता आन्दोलित भएको बताएका थिए । उनीहरुले गोली चलाउने प्रहरी प्रशासनलाई निलम्बन गर्न र न्यायीक छानवीन समिति गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरुले मृतकका परिवारलाई शहीद सरह क्षतिपूर्ति र घाइतेको निशुल्क उपचारको व्यबस्था हुनु पर्ने माग पनि गरेका थिए । 
 
जवाफमा गृहमन्त्री निधिले मंगलबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकले सप्तरी घटनाबारे आबश्यक निर्णय लिने जानकारी गराउँदै घाइतेको उपचारको व्यबस्था मिलाउन आफूले निर्देशन दिइसकेको बताएका थिए । 
 
गृह मन्त्रालय स्रोतका अनुसार सप्तरी घटनामा मृत्यु भएको व्यक्तिका आफन्तहरुलाई शहीद सरह क्षतिपूर्ति दिने निर्णय मन्त्रिपरिषद्बाट गराउन गृहमन्त्रीले प्रस्ताव लैजाने भएका छन् । यसैगरी मन्त्री निधीले सप्तरी घटनाको न्यायिक छानविनका लागि एक समिति गठन गर्ने प्रस्ताव समेत मन्त्रिपरिषद्मा लैजाने भएका छन् । 
 
सप्तरी घटना हुँदा सुदूर पश्चिममा रहेका निधी मंगलबार काठमाडौं फर्किए लगत्तै प्रहरी प्रधानकार्यालय नक्सालमा गई घटनाको बारेमा बुझ्ने र प्रहरी नेतृत्वलाई आवश्यक निर्देशन दिएर फर्किएका थिए । लगत्तै गृहमन्त्रालयमा मन्त्रालयका निमित्त सचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलार्ई राखेर मन्त्री निधीले सप्तरी घटनामा भएको कमजोरीका बारेमा समीक्षा गर्दै विशेषगरी तराई क्षेत्रमा शान्तिसुरक्षा बहाल गर्न आवश्यक निर्देशन दिएका थिए । 
 
घटनाकै बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री निधीबीचको मतमतान्तर सतहमा आईरहँदा यसबारेमा समेत दाहाल र निधीबीच गम्भीर छलफल भएको बुझिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ