२०२६ के-भाइब महोत्सव काठमाडौँमा ‘सौन्दर्यता र स्वाद’ एकसाथ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
556
Shares
काठमाडौँ । नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले शनिबार काठमाडौँको छाया सेन्टरमा २०२६ के-भाइब महोत्सव सौन्दर्यता र स्वाद (“ग्लो एण्ड टेस्ट”) आयोजना गरेको छ ।
उक्त कार्यक्रममा ८ वटा परिचित कोरियाली कस्मेटिक स्टल, काठमाडौँस्थित कोरियाली रेस्टुरेन्ट एसोसिएसनबाट ६ ओटा स्वादिष्ट भोजनालयका स्टलका साथै कोरियाली सरकारी संस्था: कोइका, कोपिया सेन्टर, ईपीएस सेन्टर लगायतको सहभागितामा कोरियाली स्वादका साथै विभिन्न मनोरञ्जनात्मक अवसरहरू एक साथ प्रदान भएको थियो ।
राजदूत पार्क थेयङले महोत्सवमा मन्तव्य राख्दै कोरियाली सौन्दर्य के-ब्युटीलगायत विभिन्न प्रदर्शनको समायोजना हुनुलाई अर्थपूर्ण अवसरको रूपमा प्रकाश पारे ।
उनले आजको विशेष कार्यक्रमले नेपालका युवा पुस्तालाई आफ्नो पहिचानको संरक्षण गर्दै विश्वव्यापी प्रवृत्तिहरूसँग जोड्ने अवसर हुने धारणा राखे। त्यसैगरी राजदूत पार्कले नेपालमा कोरियाली संस्कृतिको बढ्दो लोकप्रियता बढ्दै जानुका साथै दुई देशको सांस्कृतिक समानताको बारेमा खुलाए ।
त्यसैगरी आजको कार्यक्रममा के-ब्युटी, के-पप तथा कोरियाली परिकारको स्वाद लिने अवसर एकै स्थानमा समावेश हुनु अर्थपूर्ण रहेको खुलाए ।
दूतावासले आयोजना गरेको उक्त कार्यक्रम कोरियाली सरकारको के-भाइब सांस्कृतिक सम्बन्ध विस्तारको एक भागको रूपमा आयोजना गरिएको हो । के-ब्युटी, के-पप, के-फुड, फोटो बुथ, कोरियाली हाजिरी जवाफ र हानबोक पहिरनको अनुभव गराएर नेपाली युवापूस्ताका लागि नेपालमानै सबै किसिमको कोरियाली अनुभव लिने अवसर प्राप्त भयो ।
कार्यक्रममार्फत के-सौन्दर्य प्रेमीहरूले उच्च विशिष्टीकृत के-सौन्दर्य र छाला हेरचाह सुझाव, के-मेकअप कक्षाहरूमा पनि सहभागी हुने अवसर प्राप्त गरेका थिए ।
गणतन्त्र कोरियाली दूतावासले नेपालमा हरेक वर्ष विभिन्न आकर्षक सांस्कृतिक कार्यक्रमहरू मार्फत दुई देशबीच जनस्तरको सम्बन्ध विस्तार गर्न सक्रिय भूमिका खेल्दै आएको छ ।
२०२६ के-भाइब महोत्सव ‘चमक तथा स्वाद’ मार्फत कोरिया र नेपाल बीचको जीवन्त सांस्कृतिक साझेदारीमा अर्को सफल अध्याय स्थापित भएको छ। दुई देशबीच सौन्दर्य, परम्परा र संस्कृतिको अनुभव मार्फत सम्बन्ध थप प्रगाढ हुँदै गएको छ।
दूतावासले आयोजना गरेको कार्यक्रम राम्रोसँग प्रचार भएकोले आम जनता, सम्बन्धित सरोकारवाला तथा मिडियाकर्मीलाई एकै स्थानमा भेला गराउन सफल भएको छ । कार्यक्रममा २३ सय जना भन्दा बढी युवा पुस्ताको उपस्थितिले कार्यक्रमलाई साँच्चै ऊर्जावान र ऐतिहासिक बनाएको छ।