काठमाडौं । सप्तरीको राजविराज घट्नाप्रति नेपाल आदिवासी जनजाति महासंघले दुःख व्यक्त गरेको छ । महासंघले सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सप्तरीको राजविराजमा सुरक्षाकर्मीको गोली लागेर अहिलेसम्म ३ जनाको शहादत्त (सञ्जन मेहता, पिताम्बरलाल मण्डल र आनन्द साह), दर्जन जति गम्भीर घाइते, पाँच दर्जन जति घाइते भएको घट्नाप्रति सम्पूर्ण आदिवासी जनजातिहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ दुःख व्यक्त गर्दछ लेखेको छ ।
विज्ञप्तिमा महासंघले नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा भएको झडपमा नागरिकको टाउको, छात्ती, पेटजस्ता संवेदनशील भागहरूमा सुरक्षाकर्मीको गोली लागी मृत्यु हुनु तथा घाइते बनाइएको घटनाप्रति नेपाल आदिवासी जनजाति महासंघ गम्भीर चिन्ता ब्यक्त गर्दै उक्त अमानवीय घटनाको घोर भत्र्सना गरेको छ । साथै शान्ति सुरक्षाको नाममा अत्याधिक बल तथा कानूनबिपरित जथाभावी गोली चलाउने कार्य नेपाल पक्ष राष्ट्र रहेको सबै प्रकारको जातीय विभेद उन्मूलन गर्ने महासन्धि, मानव अधिकारको विश्वव्यापी घोषणापत्रको मूल मर्म र भावनाबिपरित रहेको र नेपालको संविधानले समेत प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, लोकतान्त्रिक मूल्य र मान्यताअनुरुप समर्थन र विरोध जनाउन पाउने अधिकार लगायतको बर्खिलापमा सरकार तथा सम्बन्धित जिम्मेवार राजनीतिक दलहरू उद्धत देखिनुप्रति महासंघ आपत्ति ब्यक्त गरेको छ ।
सरकारले राजविराज घट्नाको स्वतन्त्र, निश्पक्ष र विश्वसनीय छानबिन गरी दोषीलाई कारबाही, पीडितलाई न्यायोचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न महासंघ जोड्दार माग गर्दछ । आगामी दिनहरूमा यस्ता घट्ना दोहोरिन नदिन र जनताको सम्मानपुर्वक र सुरक्षित रुपमा बाँच्न पाउने हकको पुनर्बहाली गर्न सरकार तथा सम्बन्धित पक्ष सचेत, संवेदनशील र जिम्मेवार रहन महासंघ आग्रह गर्दछ भने नेपाली जनताले आफ्ना लोकतान्त्रिक अधिकार व्यक्त गर्दै गर्दा नेपाली सुरक्षा निकायलाई अधिकतम संयमता अपनाउन समेत आग्रह गरेको छ ।
महासंघका अध्यक्ष जगतबहादुर बरामद्वारा जारी विज्ञाप्तिमा नेपालको संविधानले आदिवासी जनजाति, मधेसी, दलित, महिलालगायत उत्पीडित क्षेत्र र जनताको पहिचान र अधिकार सुनिश्चित गर्न नसकेको यथार्थ हो । यस पृष्ठभूमिमा संविधान जारी समय वरिपरीदेखि नै आदिवासी जनजाति र मधेसी जनताहरू आन्दोलनरत रहेको अवस्थामा प्रमुख भनिएका राजनीतिक दलहरू र सरकार जिम्मेवारितापूर्वक प्रस्तुत हुनुपर्नेमा अजिम्मेवार, आवेग र उत्तेजनाले ग्रसित भएर गतिविधि गर्दाको परिणाम सप्तरीको राजविराजको घट्ना भएको ठहर गर्दै सदिऔंदेखि उत्पीडन र बहिष्करणमा पारिएका आदिवासी जनजाति, मधेसी, दलित, महिला, उत्पीडित क्षेत्र र जनताको आंकाक्षाअनुरुप संविधान संशोधन गरेर सरकार र प्रमुख राजनीतिक दलहरू अगाडि बढ्न र मुलुकलाई निकास दिन महासंघ विशेष आग्रह गर्दछ ।