काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ भन्दा बढी व्यक्ति घाइते भएका छन्। भूकम्पपछि तटीय क्षेत्रहरूमा सुनामीको खतरा देखिएपछि क्षेत्रीय स्तरमा उच्च सतर्कता अपनाउनुका साथै प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।
नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएअनुसार दक्षिण कोटाबातो, सुल्तान कुदारत, साराङ्गानी र जनरल सान्तोस सिटीसहितको सोक्सस्कार्गेन क्षेत्रमा मात्रै १२ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाँकी अन्य मृतकहरू अन्य प्रभावित क्षेत्रका रहेका छन्। घाइतेहरूको सङ्ख्या १२९ पुगेको र तीमध्ये धेरैको अवस्था चिन्ताजनक रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ।
भूकम्पको कडा धक्का महसुस भएलगत्तै फिलिपिन्स सरकारले राहत तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। समाज कल्याण तथा विकास विभाग (डिएसडब्लुडी) ले प्रभावित क्षेत्रका नागरिकका लागि आपतकालीन सहायता सामग्री परिचालन गरिसकेको छ। मन्त्रालयका अनुसार मिन्डानाओ क्षेत्रमा मात्रै ११ लाखभन्दा बढी पारिवारिक फूड प्याक (खाद्यान्न सामग्री) तयारी अवस्थामा राखी वितरण सुरु गरिएको छ भने देशभर जुनसुकै बेला आवश्यक पर्न सक्ने गरी करिब ४७ लाख फूड प्याक आपतकालीन प्रयोगका लागि स्टक राखिएको छ।
स्थानीय प्रशासनसँगको समन्वयमा फिल्ड कार्यालयहरूलाई निकासी केन्द्र (इभाकुएसन सेन्टर) मा सामाजिक कार्यकर्ताहरू खटाउन निर्देशन दिइएको छ, जसले प्रभावित परिवारहरूलाई तत्कालै गाँस र बासको व्यवस्थापनमा सहयोग पुर्याउनेछन्।
फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले नागरिक रक्षा कार्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्लाई तत्काल सक्रिय बनाउँदै राज्यका सबै संयन्त्रलाई उद्धारमा होमिन निर्देशन दिएका छन्। यस्तै, फिलिपिन्स राष्ट्रिय प्रहरीले सुरक्षा निकायहरू पूर्ण तयारी अवस्थामा रहेको र भूकम्पपछिका सम्भावित परकम्पहरू तथा थप जोखिमलाई ध्यानमा राखेर निरन्तर निगरानी गरिरहेको जनाएको छ।
भूकम्पको केन्द्रविन्दु समुन्द्रनजिकै रहेका कारण फिलिपिन्सका नौवटा प्रान्तका तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित तथा उच्च स्थानतर्फ सर्न निर्देशन दिइएको छ। अमेरिकी प्यासिफिक सुनामी वार्निङ सेन्टरका अनुसार फिलिपिन्सको तटीय क्षेत्रमा करिब तीन मिटरसम्म र छिमेकी देशहरूमा एक मिटरसम्मको सुनामी छाल आउन सक्ने सम्भावना छ।
यस भूकम्पको असर फिलिपिन्समा मात्र नभई क्षेत्रीय स्तरमै परेको छ। सुनामीको सम्भावित खतरालाई मध्यनजर गर्दै इन्डोनेसियाका उत्तरी सुलावेसी, उत्तरी गोरोन्टालो र साङ्गिहे टापुहरूमा पनि सर्वसाधारणलाई सुरक्षित स्थानमा जान निकासी आदेश जारी गरिएको छ। जापान, फिलिपिन्स र इन्डोनेसिया तीनवै देशले आ-आफ्ना तटीय क्षेत्रहरूमा सुनामीको उच्च सतर्कता (अलर्ट) जारी गरेका छन्। प्रभावित क्षेत्रहरूमा अहिले पनि खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।