आगामी सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
443
Shares
काठमाडौँ । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्ततः व्यावसायिक उडान सुरु हुने भएको छ। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी 'फ्लाई दुबई' ले पोखरा–दुबई रुटमा सिधा नियमित उडान सेवा सुरु गर्न लागेको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी सेप्टेम्बर २3 देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार फ्लाई दुबईको उडान तालिका सोमबार नै स्वीकृत भइसकेको छ। उडान अनुमति दिनुअघि फ्लाई दुबईको प्राविधिक टोलीले पोखरा विमानस्थलको उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालन सम्बन्धी स्थलगत निरीक्षणसमेत गरेको थियो।
सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै यो सफलता मिलेको हो। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फ्लाई दुबईको आगमनसँगै नेपालको तेस्रो अन्तर्राष्ट्रिय हवाई प्रवेशद्वारका रूपमा रहेको पोखरा विमानस्थल नियमित सञ्चालनको दिशामा अघि बढेको बताए।
"यो केवल एउटा हवाई सेवा थपिने विषय मात्र होइन, यो पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधिको विस्तार गर्ने ऐतिहासिक अवसर हो," नगरप्रमुख आचार्यले भने, "दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिकालगायत विश्वका ३०० भन्दा बढी सहरसँग पोखराको सीधा पहुँच पुग्नेछ।"
सन् २०२३ को जनवरी १ मा भव्य उद्घाटन भएको यो विमानस्थल झन्डै २२ अर्ब रुपैयाँ ऋणमा निर्माण भएको हो। तर, उद्घाटनको लामो समयसम्म पनि केही 'चार्टर' उडानबाहेक यहाँबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन।
यसअघि सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरे पनि त्यो सफल हुन सकेन र गत मार्च २३ बाट पूर्ण रूपमा बन्द भयो। हालसम्म यो विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहँदै आएको थियो।
विमानस्थल निर्माण भएपछि पोखराको पर्यटन क्षेत्रमा झन्डै १ खर्ब रुपैयाँ बराबरको थप लगानी गरेका पर्यटन व्यवसायीहरू यो समाचारसँगै निकै उत्साहित भएका छन्। उनीहरूले अब पोखराबाट अन्तर्राष्ट्रिय उडानलाई दिगो बनाउन आवश्यक नीतिनियममा सहजीकरण गर्नुपर्ने र भारत तथा चीनका मुख्य सहरहरूमा उडानका लागि स्वदेशी वायुसेवा कम्पनीहरूलाई पनि प्रोत्साहन गर्नुपर्ने माग राख्दै आएका छन्। हाल स्वदेशी कम्पनीहरूले पोखराबाट काठमाडौँ, भरतपुर र भैरहवाजस्ता आन्तरिक गन्तव्यहरूमा मात्र उडान भर्दै आएका छन्।