arrow

पोखरामा विपन्न परिवारका लागि निःशुल्क म्यादी जीवन बीमा, ४४ परिवार लाभान्वित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
pokhara-mahanagar-office.jpg

कास्की । पोखरा महानगरपालिका-१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून आय भएका परिवारका लागि म्यादी जीवन बिमा कार्यक्रम शुरू गरेको छ।

आर्थिक अभावका कारण बिमा सेवाबाट वञ्चित रहेका विपन्न तथा सुकुमवासी परिवारलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यसहित वडाले लिबर्टी माइक्रो इन्स्योरेन्स कम्पनीमार्फत ४४ परिवारको निःशुल्क जीवन बीमा गरिदिएको हो।

दैनिक जीविकोपार्जनमै संघर्षरत परिवारलाई आकस्मिक दुर्घटना, बिरामी वा मृत्युजस्ता जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

वडाभित्र अस्थायी रूपमा बसोबास गर्ने सुकुमवासी तथा न्यून आय भएका परिवारलाई प्राथमिकतामा राखेर यो सुविधा प्रदान गरिएको हो।

वडाध्यक्ष सन्तोष बास्तोलाले सामाजिक सुरक्षाको पहुँच सबै नागरिकसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम ल्याइएको बताएका छन्।

उनले भने, “दुर्घटना वा अप्रत्यासित घटनाले विपन्न परिवारलाई ठूलो संकटमा पार्छ। त्यस्ता परिवारलाई न्यूनतम आर्थिक सुरक्षा दिन यो कार्यक्रम ल्याएका हौँ।”

कार्यक्रमअन्तर्गत प्रतिव्यक्ति वार्षिक २५० रुपैयाँ बराबरको प्रिमियममा एक लाख रुपैयाँसम्म उपचार सुविधा र बीमितको मृत्यु भएमा परिवारलाई एक लाख पचास हजार रुपैयाँसम्म राहत उपलब्ध हुने व्यवस्था गरिएको छ।

वडा कार्यालयले यसका लागि चालु आर्थिक वर्षमा ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। न्यून लागतमा उपलब्ध यो सुविधाले विपन्न परिवारलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको वडा सदस्य शान्ति कोइरालाले बताएकी छन्।

बीमा कार्यक्रमसँगै लक्षित समुदायलाई जीवन बिमाको आवश्यकता, प्रक्रिया र लाभबारे सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ। सहभागीलाई आकस्मिक जोखिम व्यवस्थापन, परिवारको आर्थिक सुरक्षा र दीर्घकालीन स्थायित्वका विषयमा जानकारी दिइएको वडा कार्यालयले जनाएको छ।

वडाध्यक्ष बास्तोलाले यस्तो कार्यक्रम अन्य वडाका लागि पनि उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ