-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल आगामी १४ देखि १७ जुनसम्म चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।
चीनका परराष्ट्रमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी चारदिने भ्रमणका लागि चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्।
वार्तामा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने तथा द्विपक्षीय सहयोगका विविध आयामबारे छलफल हुने जनाइएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चीन सरकारका उच्च स्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्नेछन्।
सम्मेलनमा नेपालमा वैदेशिक लगानीको सम्भावना र लगानीमैत्री वातावरणबारे छलफल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खनालले दूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई चीनमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ।
चार दिने औपचारिक भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल १७ जुनमा काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।