arrow

नेपालकै यस्तो गाउँ जहाँ बाँसको तराजु र ढुंगाको ढकको मात्रै प्रयोग हुन्छ

logo
प्रकाशित २०७३ फागुन २५ बुधबार
dhak-taraju.jpeg
उदयपुर ।  उदयपुर, सिरहा र सप्तरीका सदरमुकाम बाहेकका अन्य अधिकांस बजारका व्यापारीले  प्रयोग गर्ने ढक तथा तराजुको नियमित निरीक्षण र अनुगमन नहुँदा उपभोक्ता ठगिएका छन् । अधिकांश ब्यापारीहरुले नाप तौलमा बाँसको तराजु र ढुंगाको ढक प्रयोग गरी सर्बसाधारण उपभोक्तालाई ठगी गरिरहेका छन् ।
 
नेपाल गुणस्तर तथा नापतौल बिभागले प्रत्येक बर्ष ढक तराजुको निरीक्षण गरी नापतौल गर्दा खिएका ढक तराजुमा टाँचा हाल्नुपर्ने र नापतौलका लागि प्रतिबन्ध लगाउनुु पर्ने कानुनी ब्यबस्था भएपनि यी  जिल्लाका अधिकांस बजारमा हालसम्म ढक तराजुको परीक्षण हुन सकेको छैन । बजार अनुगमन र निरीक्षणको अभावमा ब्यापारीहरुको मनोमानी बढेकाले लामो समयदेखि ढुंगाको ढक र बाँसको तराजुले जोखेर दिने खाद्यबस्तुसमेत चुप लागेर खरिद गर्नुपरिरहेको सर्बसाधारणको भनाई छ ।
 
“१ किलोग्राम तौल भएको ढक प्रत्येक बर्ष १० ग्रामकादरले खिइँदै जाने भएपनि लामो समयदेखि अनुगमन नहुँदा उपभोक्ता त्यसरी खिइएका ढकबाटै सामान खरिद गर्न बाध्य छन्” उदयपुरको रामपुर बजारका उपभोक्ता सुशील थापाले भने,“ ढक तराजु अब्यबस्थित भएकाकारण एउटा पसलमा किनेको सामान अन्य पसलमा लगेर जोख्दा कहिल्यै बराबरी हुँदैन ।”
 
ढक तराजुको परीक्षण नगरिएकाकारण चामल, मासु, चिनी, तरकारी लगाएतका दैनिक उपभोग्य सामाग्री खरिद गर्ने उपभोक्ताहरु प्रतिकिलोग्राम २० देखि ३० ग्रामसम्म ठगिँदै आएको सिरहा गोलबजारका उपभोक्ता शोभित महतोले बताए । “अझ ढुंगाको ढक र बाँसको तराजुले जोखेर किनेको सामानमा उपभोक्ता बढी ठगिन्छन्” उनले भने, “प्रतिकेजी ८० देखि १ सय ग्रामसम्म ठगिएको पाइएको छ ।” 
 
ढक तराजुको नियमित अनुगमन र परीक्षण नभएसंगै बजारमा दैनिक उपभोग्य बस्तुको मुल्यमा समेत एकरुपता देखिँदैन । अधिकांस ब्यापारीले पसलमा मुल्यसुची टाँस नगरेकाकारण उनीहरुले जति भन्छन् त्यतिमै सामान खरिद गर्नु पर्ने सर्बसाधारणको बाध्यता छ । 
 
“व्यापारीले आफुखुशी सामानको मोल राखेर बिक्री गर्छन्, कतिपय कुखुरा, माछा र मासु ब्यापारीले त सस्तो स्प्रीङ्गवाला तराजुले जोखेर सर्बसाधारणलाई हैरान पारेका छन्” सप्तरीको कल्याणपुरका उपभोक्ता ओमप्रकाश साहले भने, “स्प्रीङ्गबाला तराजुले जोखेर सामान बेच्ने ब्यापारीले प्रतिकिलोग्राम १ सय देखि १ सय ५० ग्रामसम्म ठग्ने गरेका छन् ।”
 
कतिपय ब्यापारीले फलामकै ढक तराजु राखेपनि फलामको ढकलाई पिँधमा हिर्काएर कम तौलको बनाउने गरेको उपभोक्ताको आरोप छ । सामान तौलिने क्रममा ढकबारे शंका ब्यक्त गर्दा ब्यापारीले उल्टै ग्राहकलाई हप्काउने गरेका छन् । 
 
ब्यापारीलाई आफ्नो पसलमा अनिबार्यरुपमा मूल्यसुचि टाँस्न र फलामका ढक तराजु प्रयोग गर्न जिल्लास्थित ब्यापार संघले आग्रह गरेपनि सदरमुकाम बाहेकका कतिपय ब्यापारीले अटेर गरेको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष गजेन्द्र भगत बताउँछन् । “ ग्रामिण बजारहरुमा मूल्यसुचि नटाँसेको र बाँसको तराजु र ढुंगाको ढक प्रयोग गरेको गुनासो आएपछि हामीले त्यसलाई सुधार गर्न पटकपटक आग्रह गरेका छौं” भगतले भने,“ तर अझै पनि सबै बजारमा सुधार आएको छैन ।” 
 
खाद्यपदार्थको गुणस्तर र नापतौलको जाँच गर्ने सरकारी निकाय नेपाल गुणस्तर तथा नापतौल बिभागका कर्मचारी बर्षमा एक दुई पटक सदरमुकाम पुगेपनि ग्रामिण बजारहरुमा अनुगमन गर्न नपुगेको स्थानीय बताउँछन् ।  ग्रामिण बजारका ब्यापारीले सामानको मूल्य आफुखुशी राख्ने र ढुंगाको ढक र बाँसको तराजु प्रयोग गर्ने भएकाले बजार भाउ नियन्त्रण गर्न र गुणस्तरीय ढक तराजुको प्रयोग गराउन सरोकारवाला निकायले ध्यान दिन अत्याबश्यक रहेको मुर्कुची बजारका उपभोक्ता श्याम तामाङले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ