चीनको चार दिने औपचारिक भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री खनाल
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
554
Shares
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल आज (आइतबार) छिमेकी मुलुक चीनको चार दिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दै छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको विशेष निमन्त्रणामा मन्त्री खनाल चार दिवसीय भ्रमणका लागि त्यसतर्फ जान लागेका हुन्।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त उच्च स्तरीय वार्तामा नेपाल-चीनबिचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने तथा द्विपक्षीय सहयोगका विविध आयामबारे गहन छलफल हुनेछ। भ्रमणका क्रममा मन्त्री खनालले चीन सरकारका अन्य उच्च स्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ।
यसका साथै बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा मुख्य अतिथिका रूपमा सहभागी हुँदै उनले चिनियाँ व्यवसायी समुदायसँग विशेष अन्तरक्रिया गर्नेछन्। सो सम्मेलनमा नेपालमा वैदेशिक लगानीको सम्भावना, चुनौती र सरकारले तयार पारेको लगानीमैत्री वातावरणबारे चिनियाँ लगानीकर्ताहरूलाई अवगत गराइने मन्त्रालयले जनाएको छ।
मन्त्री खनाल नेपाली दूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा छलफल गर्ने कार्यक्रम समेत रहेको छ। चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल आगामी असार ३ गते (१७ जुन) स्वदेश फर्किने कार्यक्रम रहेको छ।