arrow

राष्ट्र बैङ्कको अध्ययन प्रतिवेदन

मुलुकको औद्योगिक क्षेत्र: चुनौतीका पहाडबीच सम्भावनाका अनेकौँ ढोका

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको ‘चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन’ अनुसार मुलुकको औद्योगिक क्षेत्रमा पर्याप्त पुँजीको अभाव, प्रविधिकगत पछौटेपन र दक्ष जनशक्तिको पलायन प्रमुख समस्याका रूपमा रहेका छन्। केन्द्रीय बैङ्कको प्रादेशिक अध्ययन प्रतिवेदनले नेपाली उद्योगहरूमा उच्च उत्पादन लागत, पूर्ण क्षमतामा चल्न नसक्ने अवस्था, कच्चा पदार्थको व्यवस्थापन र उत्पादित वस्तुका लागि उपयुक्त बजार नहुनुलाई मुख्य चुनौतीका रूपमा चित्रण गरेको छ।

औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउनु र निर्यातजन्य वस्तुको विविधीकरण गर्नु अहिलेको प्रमुख आवश्यकता देखिएको छ। सुदूरपश्चिम प्रदेशमा भारतसँगको खुला सीमानाकाका कारण हुने सम्भावित भन्सार छली र अवैध पैठारीले स्थानीय उत्पादनलाई मारमा पारेको छ भने कर्णाली प्रदेशमा स्थापित उद्योगहरू पुँजी अभाव र न्यून बजारीकरणका कारण पलायन हुने खतरामा छन्। 

ठुलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जाँदा उद्योगहरूले आवश्यक प्राविधिक सीपयुक्त जनशक्ति पाउन सकेका छैनन्। यद्यपि, यस्ता अनेकौँ कठिनाइ र चुनौतीका बिच पनि नेपालको औद्योगिक क्षेत्रमा प्रचुर सम्भावनाहरू रहेको अध्ययनले देखाएको छ।

जलविद्युत् उत्पादनमा भइरहेको विस्तार, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेकाले लगानीको वातावरण सुधारिँदै गएको छ। कृषि उपज, जडीबुटीको उपलब्धता र खानीजन्य पदार्थको प्रचुर सम्भाव्यताका कारण स्वदेशी स्रोतमा आधारित उद्योगहरूको भविष्य उज्ज्वल देखिन्छ। 

यसका साथै बढ्दो सूचना प्रविधिको प्रयोगसँगै सफ्टवेयर विकास, सूचना प्रविधि सेवा तथा ‘आउटसोर्सिङ’ (बाह्य स्रोत परिचालन) उद्योगको विकास हुने सम्भावना उच्च रहेको प्रतिवेदनमा उल्लेख छ। सरकारी निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने नीति, निजी क्षेत्रसँगको सहकार्य, सहज बैंकिङ पहुँच र वित्तीय संस्थाहरूमा रहेको अधिक तरलता (लगानीयोग्य रकम) एवं न्यून ब्याजदरका कारण औद्योगिक उत्पादनको विस्तारमा टेवा पुग्ने देखिन्छ।

प्रादेशिक रूपमा हेर्दा मधेस प्रदेशमा धान, गहुँ, मकै, उखु, तेलहन र दुग्ध उत्पादन प्रचुर मात्रामा हुने भएकाले खाद्य प्रशोधन, चिनी, चामल र पशु आहार उद्योगको विस्तार गर्न सकिने ठुलो सम्भावना छ। देशकै सबैभन्दा बढी जनघनत्व भएको क्षेत्र भएकाले यहाँ सस्तो श्रम आपूर्ति हुने हुँदा उद्योगहरूको उत्पादन लागत घट्न गई कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान बढ्न सक्छ। 

साथै, धार्मिक र सांस्कृतिक रूपमा समृद्ध मधेसका होटल, हस्तकला र मिथिला कला जस्ता पर्यटन उद्योगको विकास गर्न सकिनेछ। बागमती प्रदेशमा मासुजन्य र दुग्धजन्य उत्पादन, खाद्य तथा जडीबुटी प्रशोधन जस्ता साना तथा मझौला उद्योगको प्रचुर सम्भावना छ। विदेशबाट फर्किएका नेपालीहरूको सीपलाई उपयोग गर्दै र डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी नयाँ बजार विस्तार गर्न सकिने प्रतिवेदनमा जनाइएको छ।

गण्डकी प्रदेशमा ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ जस्ता अभियानहरू, कानुनी सुधार तथा सडक, विद्युत, प्रसारण लाइन र इन्टरनेट जस्ता पूर्वाधारको प्रभावकारी विकासले औद्योगिक उत्पादनका लागि नयाँ आधार तयार पारेको छ। स्थानीय स्रोतसाधन र सीपमा आधारित उत्पादनमा जोड दिँदै वित्तीय पहुँच र न्यून ब्याजदरको फाइदा उठाएर आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सकिने राष्ट्र बैङ्कको अध्ययनले देखाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ