काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभा बैठक बसिरहेको छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रतिनिधि सभाको बैठकमा नयाँ आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल औपचारिक रूपमा शुरू हुने संसद् सचिवालयले जनाएको छ।
प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुने कार्यसूची रहेको छ।
जसअनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुनेछ।
साथै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकहरूमाथि पनि सांसदहरूले आ-आफ्नो धारणा राख्नेछन्।