प्रतिनिधि सभा बैठक पुनः शुरू, मन्त्रीहरूले जवाफ दिँदै [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
134
Shares
काठमाडौँ। श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्मा वेल घेराउ गर्दै नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभाको बैठक पुनः शुरू भएको छ।
बुधबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिने मुख्य कार्यसूची चलिरहेको थियो। मन्त्रालयगत बजेटमाथिको छलफलमा मन्त्रीहरूले जवाफ दिने क्रम शुरू भएपछि श्रम संस्कृति पार्टीका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए।
आफूहरूले उठाएका जिज्ञासा र प्रश्नको सम्बन्धित मन्त्रीले उचित जवाफ नदिएको भन्दै सो पार्टीका सांसदहरूले रोस्टम अगाडिको वेल घेराउ गरी नाराबाजी गरेपछि संसद्मा गतिरोध उत्पन्न भएको थियो। सांसदहरूको निरन्तरको विरोध र नाराबाजीका कारण संसद्को कारबाही अगाडि बढाउन नसकेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
स्थगनपछि निर्धारित समयमा बैठक फेरि शुरू भएको छ र आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिने मन्त्रीहरूको कार्यसूचीलाई नै निरन्तरता दिइएको छ।