इरानले हर्मुज बन्द गर्न सक्ने भन्दै अमेरिकी गुप्तचरले जनायो चिन्ता
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
258
Shares
काठमाडौँ । अमेरिकी गुप्तचर एजेन्सीहरूको नयाँ मूल्याङ्कन प्रतिवेदन अनुसार युद्धपछि इरानले हर्मुज जलमार्गलाई आफ्नो इच्छा अनुसार बन्द गर्न सक्ने क्षमता हासिल गरेको छ। आगामी शुक्रबार दुई देशबीच सम्झौतामा हस्ताक्षर हुने तयारी भइरहेकै बेला अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले यो विवरण सार्वजनिक गरेको हो।
अमेरिकी गुप्तचर मूल्याङ्कनसँग परिचित स्रोतका अनुसार हाल इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने होर्मुज जलमार्गमाथि वास्तविक नियन्त्रण कायम गरेको छ, जसलाई विज्ञहरूले कुनै पनि आणविक हतियारभन्दा बढी शक्तिशाली हतियारका रूपमा विश्लेषण गरेका छन्। आगामी शुक्रबार औपचारिक सम्झौता हुने भए तापनि यो जलमार्गको प्रयोग गरेर विश्व अर्थतन्त्रलाई नोक्सान पुर्याउने इरानको प्रतिगामी कार्य जुनसुकै बेला पुनः सुरु हुन सक्ने चिन्ता प्रतिवेदनमा औँल्याइएको छ।
इरानले पछिल्लो समय खाडी मुलुकहरूको ऊर्जा पूर्वाधारमा भएका आक्रमणहरूबाट फाइदा उठाउन सिकेको र प्रति-आक्रमणको स्वरूप छिमेकी देशहरूमा रहेका अमेरिकी सैन्य आधारहरूमा समेत आक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ। त्यसैले, युद्ध अन्त्य गरी होर्मुज जलमार्गलाई पूर्ण रूपमा पुनः खोलेपछि पनि इरानले पाइरहने निरन्तर लाभलाई ध्यानमा राख्दै अमेरिकाले इरानसँग गहन वार्ता गर्नुपरेको जनाइएको छ।
अमेरिकी उपराष्ट्रपति जे. डी. भान्सले आगामी शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुन लागेको इरान सम्झौताबारे बोल्दै सम्झौताअनुसार इरानसँग कुनै पनि आणविक हतियार हुन नसक्ने र रणनीतिक मार्ग हर्मुज जलमार्ग सधैँ खुला रहनुपर्ने सर्तहरू खुलासा गरेका छन्। उपराष्ट्रपति भान्सले यी सर्तहरू पालना गरेमा इरानका लागि धेरै फाइदाहरू रहने उल्लेख गर्दै सर्त उल्लङ्घन गरेमा इरानीहरूले केही पनि नपाउने चेतावनी समेत दिएका छन्।
सम्झौताको तयारी भइरहँदा होर्मुज जल क्षेत्रमा कार्यरत ढुवानी उद्योगका अधिकारीहरू र जहाजहरूको आवागमन नियमन गर्ने विज्ञहरूले भने सम्झौताका सामग्री र यसले निम्त्याउन सक्ने अन्य जोखिमहरूबारे अनिश्चितता व्यक्त गरेका छन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार इरानसँगको सम्झौताको रूपरेखा वा ढाँचा “एक–दुई दिनमा“ सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रपति ट्रम्पले गत आइतबार नै इलेक्ट्रोनिक माध्यमबाट यस सम्झौतामा हस्ताक्षर गरिसकेको जनाइए पनि यसको पूर्ण पाठ भने अझैसम्म सार्वजनिक रूपमा खुलासा गरिएको छैन।