प्रतिनिधि सभा बैठक जारी, बजेट पारित गर्ने तयारी [लाइभ]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
165
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बसिरहेको छ । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार आजको बैठकको मुख्य कार्यसूची 'विनियोजन विधेयक, २०८३' लाई औपचारिक रूपमा पारित गर्नु रहेको छ। आजको बैठकमा बजेटमाथिको छलफल, मन्त्रीहरूले दिने स्पष्टीकरण र विधेयक पारित गर्ने सम्बन्धी मुख्य तीनवटा कार्यहरूलाई अगाडि बढाइनेछ।
बैठकको शुरूआती चरणमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा विभिन्न मन्त्रालयका शीर्षकहरूमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्। यसरी संसद्मा स्पष्टीकरण दिनेहरूमा शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मन्त्रीहरू रहेका छन्। यसका साथै राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमा सांसदहरूले उठाएका प्रश्नहरूको पनि आजै जवाफ दिइने कार्यसूची तय भएको छ।
मन्त्रीहरूको जवाफपछि बैठकमा सभामुखले विभिन्न मन्त्रालयहरूको बजेट कटौतीको माग गर्दै २० जना सांसदहरूले प्रस्तुत गरेका खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ पेस गर्नेछन्। उक्त खर्च कटौतीको प्रस्ताव राख्ने सांसदहरूमा कृपाराम राना, पार्वती वि.क., जोग कुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ्ग, अर्जुन कुमार कार्की, नरेन्द्र कुमार केरुङ, रमेश कुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल, एशुदा कुमारी बराल, गुरू प्रसाद बराल, मोहम्मद इस्तियाक राई, बलावती शर्मा, विष्णुमाया वि.क., यज्ञ बहादुर बोगटी, ऐन बहादुर महर, पुष्प राज कँडेल र पद्मा कुमारी अर्याल रहेका छन्।
सांसदहरूले राखेका ती खर्च कटौतीका प्रस्तावहरूमाथि निर्णय भइसकेपछि संसद्मा व्यवस्थापन कार्य अन्तर्गत 'विनियोजन विधेयक, २०८३' का विभिन्न दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। बैठकको अन्तिम कार्यसूचीका रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्” भनी संसद्मा औपचारिक प्रस्ताव प्रस्तुत गर्नेछन् र उक्त प्रस्ताव सर्वसम्मत वा बहुमतबाट स्वीकृत भएसँगै आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाबाट पूर्ण रूपमा पारित हुनेछ।