अलपत्र आयोजनालाई प्राथमिकता दिइएको ऊर्जामन्त्री श्रेष्ठको दाबी
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
144
Shares
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले लामो समयदेखि अलपत्र परेका आयोजनाहरूलाई छिटो सम्पन्न गर्ने र यसै वर्ष पूरा हुने आयोजनामा बजेट विनियोजन गर्दा प्राथमिकता दिइएको स्पष्ट पारेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेट ‘छर्ने प्रवृत्ति’ भन्दा पनि परिणाममुखी आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको बताए।
मन्त्री श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षमा जलविद्युत आयोजनाबाट ६७० मेगावाट र सौर्य आयोजनाबाट ३७० मेगावाट गरी कुल एक हजार ४० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपिनेछ। यससँगै देशको कुल जडित क्षमता पाँच हजार ५३५ मेगावाट पुग्ने प्रक्षेपण गरिएको उनले जानकारी दिए।
उनले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको दीर्घकालीन लक्ष्य रहेको पनि स्मरण गराएका छन्। मन्त्री श्रेष्ठले उत्पादित विद्युत खेर जान नदिने गरी आवश्यक पूर्वतयारी र गृहकार्य भइरहेको समेत बताए।