खानेपानी र सरसफाइ सुधारका लागि एडीबीकाे ११ करोड ५० लाख डलर ऋण स्वीकृत
हाम्रा कुरा
प्रकाशित २०८३ असार ५ शुक्रबार
323
Shares
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) ले नेपालका नगरपालिकाहरूमा खानेपानी र सरसफाइ प्रणालीमा सुधार गर्न ११ करोड ५० लाख अमेरिकी डलर (करिब १५ अर्ब ३० करोड रुपैयाँभन्दा बढी) बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ।
एडिबीका अनुसार यस ‘एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना’ बाट नेपालका १३ जिल्लाका ८ लाख ५० हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। यो परियोजना मुख्यतया सहरी क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार गर्न तथा ढल एवं फोहोरपानी व्यवस्थापनलाई व्यवस्थित बनाउन केन्द्रित हुनेछ।
नेपालमा बढ्दो जनघनत्व र यसले पारेको प्रभावबारे उल्लेख गर्दै एडिबी नेपालका कन्ट्री डाइरेक्टर आर्नो कोश्वाले भने, “नेपालमा तीव्र सहरीकरणका कारण सहरी क्षेत्रमा अत्यधिक चाप बढ्दै गइरहेको छ। जसका कारण धेरैजसो समुदायहरू सुरक्षित खानेपानी र आधारभूत स्वास्थ्य सुविधा (सरसफाइ) बाट वञ्चित हुनुपरेको अवस्था छ।” उनले यो परियोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि सम्बन्धित नगरपालिकाहरूमा खानेपानी र सरसफाइको पहुँचमा ठूलो सुधार आउने विश्वास व्यक्त गरे।