सहआयोजक अमेरिका विश्वकपको नकआउट चरणमा, अष्ट्रेलियामाथि २–० को जित
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
186
Shares
काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ मा अष्ट्रेलियालाई पराजित गर्दै सहआयोजक अमेरिका नकआउट चरण प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोल अन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो ।
विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो । अमेरिकाको जितमा एलेक्स फ्रिम्यानले एक गोल गरे भने एक गोल उपहार प्राप्त गर्यो ।
खेल शुरूआती ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता लियो । अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर प्राप्त गर्यो ।
त्यसपछि खेलको ४३औँ मिनेटमा अमेरिकाका एलेक्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत अमेरिकाले अष्ट्रेलियामाथि २–० गोलअन्तरको जित निकाल्यो ।
यस जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ । अर्को सहआयोजक मेक्सिको पनि लगातार दुई जितसहित नकआउट चरणमा पुगेको छ ।