अमेरिका-इरान वार्ताको तयारी तीव्र, स्वीट्जरल्यान्डमा नयाँ कूटनीतिक पहल
हाम्रा कुरा
प्रकाशित २०८३ असार ६ शनिबार
299
Shares
काठमाडौँ। अमेरिका र इरानबीच हालै भएको १४ बुँदे समझदारीपत्र (एमओयू) कार्यान्वयन गर्ने उद्देश्यले नयाँ चरणको कूटनीतिक वार्ताको तयारी तीव्र भएको छ।
पश्चिम एसियामा जारी तनाव न्यूनीकरण र सम्भावित आणविक सम्झौताका विषयमा छलफल गर्न अमेरिकी विशेष दूत स्टिभ विटकोफ स्वीट्जरल्यान्ड प्रस्थान गरेका छन्।
अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार तथा ज्वाइँ जारेड कुशनर पनि वार्ताको पूर्वतयारीका लागि स्वीट्जरल्यान्ड पुगिसकेका छन्।
इरानी विदेशमन्त्री अब्बास अराघची पनि वार्तामा सहभागी हुने तयारीमा रहेको जनाइएको छ, यद्यपि लेबनानको सुरक्षा अवस्थाअनुसार उनको भ्रमण तालिका परिवर्तन हुन सक्ने बताइएको छ।
शुक्रबारदेखि शुरू हुने भनिएको वार्ता इजरायल र लेबनानस्थित हिजबुल्लाहबीचको द्वन्द्वका कारण स्थगित भएको थियो।
तर अमेरिका र कतारको मध्यस्थतामा युद्धविराम पुनः लागू गर्ने सहमति भएपछि वार्ता अघि बढाउने प्रयासले गति लिएको सीएनएनले जनाएको छ। कूटनीतिक स्रोतहरूका अनुसार उक्त प्रक्रियामा इरानले पनि महत्वपूर्ण भूमिका खेलेको छ।
मध्यस्थकर्ता राष्ट्रहरूको भनाइमा लेबनानमा स्थायी युद्धविराम कायम हुनु अमेरिका-इरान वार्ताको सफलताका लागि महत्वपूर्ण आधार बनेको छ।
कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी पनि स्वीट्जरल्यान्ड पुगेका छन्। कतार दुवै देशबीच संवाद गराउने प्रमुख मध्यस्थकर्तामध्ये एक हो।
स्वीस विदेश मन्त्रालयले अमेरिका, इरान, कतार र पाकिस्तानबीच हुने भनिएको बहुपक्षीय वार्ता स्थगित भए पनि आवश्यक कूटनीतिक तयारी जारी रहेको जनाएको छ।
अमेरिका-इरान समझदारीपत्रमा लेबनानसहितका क्षेत्रमा सैन्य गतिविधि रोक्ने, ६० दिनभित्र अन्तिम सम्झौताको प्रयास गर्ने तथा आवश्यक परे समय थप गर्न सकिने व्यवस्था छ।
यसअन्तर्गत अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध तथा समुद्री नाकाबन्दी खुकुलो बनाउने प्रक्रिया अघि बढाउनेछ भने इरानले होर्मुज जलडमरूमध्यबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ।
समझदारीपत्रमा इरानको आणविक कार्यक्रमसम्बन्धी प्राविधिक वार्ता, चरणबद्ध प्रतिबन्ध फुकुवा, रोकिएका सम्पत्ति खुला गर्ने, इरानी तेल निर्यातमा सहजीकरण तथा आर्थिक पुनर्निर्माणका क्षेत्रमा सहयोग विस्तार गर्ने विषय पनि समावेश छन्।
यसैबीच कतारले बाँकी विवाद पनि संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ।
स्वीट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा कतारी प्रधानमन्त्री र स्वीस विदेशमन्त्रीबीच भएको भेटवार्तामा क्षेत्रीय शान्ति, स्थायित्व र सुरक्षा सुदृढ गर्न संयुक्त प्रयासलाई निरन्तरता दिने सहमति भएको बताइएको छ।