काठमाडौँ। मेक्सिकोको मोन्टेरे रंगशालामा सम्पन्न विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा जापानले ट्युनिसियामाथि ४-० को प्रभावशाली जित निकालेको छ।
जापानको जितमा आयासे उएडाले दुई गोल गरे भने दाइची कामादा र जुन्या इतोले १-१ गोल थपे।
जापानले खेलको चौथो मिनेटमै कामादाको गोलबाट अग्रता बनाएको थियो। त्यसपछि ३१औँ मिनेटमा उएडाले गोल गर्दै पहिलो हाफमै टोलीलाई २-० को बलियो अवस्थामा पुर्याए।
दोस्रो हाफमा पनि जापानको दबाब कायम रह्यो। ६९ औँ मिनेटमा इतोले गोल गर्दै अन्तर ३-० बनाए भने उएडाले ८२औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै शानदार जित सुनिश्चित गरे।
नेदरल्यान्ड्ससँग पहिलो खेलमा २-२ को बराबरी खेलेको जापानले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।
अर्कोतर्फ ट्युनिसिया लगातार दोस्रो हारसँगै समूह चरणबाट बाहिरिने जोखिममा पुगेको छ।
नयाँ प्रशिक्षक एर्भे रेनार्डको नेतृत्वमा मैदान उत्रिएको ट्युनिसियाले रक्षात्मक कमजोरी दोहोर्याउँदा जापानको तीव्र आक्रमण र सशक्त रणनीतिसामु टिक्न सकेन।
यो नतिजासँगै जापान समूह एफको शीर्ष स्थानको दाबेदार बनेको छ भने अन्तिम खेलअघि टोलीको मनोबल उच्च बनेको छ।