arrow

बस ब्रेक फेल भई सडकको नालीमा पल्टिँदा २६ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
bus-bajura-accident.jpg

काठमाडौँ ।  बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २६ जना यात्रु घाइते भएका छन्। महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१–००१ ख १३५५ नम्बरको बस अचानक ब्रेक फेल भई सडकको बायाँ नालीतर्फ पल्टिँदा सो दुर्घटना भएको हो।

साँफेबगर–मार्तडी सडकखण्ड अन्तर्गत रिठाबजारमा बिहान ७:१० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बसका चालक खप्तड छेडेदह गाउँपालिका–५ दोगडीका ४३ वर्षीय खडक बुढा रहेका छन्।

घाइतेहरूको तत्काल उद्धारका लागि बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स परिचालन गरिएको थियो। घाइतेमध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ भने गम्भीर रहेका १ जनालाई घटनास्थलबाटै अछामको बयालपाटा अस्पताल पठाइएको छ। अन्य २ जना घाइते भने आफैँ मोटरसाइकलमार्फत अस्पताल गएको प्रहरीले जनाएको छ।

घाइतेहरूको नाम, ठेगाना र स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण संकलन भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेश शाहीले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ