योगले नेपाललाई विश्वको उत्कृष्ट गन्तव्यका रूपमा चिनाउँछ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
141
Shares
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
‘अन्तर्राष्ट्रिय योग दिवस’ का अवसरमा पोखरामा भारतीय राजदूतावासद्वारा आयोजित विशेष योग शिविरमा सहभागी हुँदै मुख्यमन्त्री पाण्डेले यस्तो धारणा व्यक्त गरेका हुन् ।
उनले व्यस्त जीवनशैलीका कारण उत्पन्न हुने तनाव व्यवस्थापनका लागि दैनिक योग र ध्यान अनिवार्य रहेको उल्लेख गरे ।
नेपालको भौगोलिक विशिष्टता र ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले हिमालयको फेदमा ऋषिमुनिहरूले तपस्या गरी योग परम्पराको विकास गरेकाले नेपाल योगका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको बताए ।
उनले पोखरालाई योग गन्तव्यका रूपमा प्रवर्द्धन गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको जानकारी पनि दिए ।
उक्त अवसरमा उनले विगत तीन वर्षदेखि पोखरामा नियमित रूपमा योग दिवस आयोजना गर्दै आएकोमा भारतीय राजदूतावासप्रति आभार व्यक्त गरे ।
यस्ता कार्यक्रमले नेपाल र भारतबीचको परापूर्वकालदेखिको जनस्तरको सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउन योगदान पुगेको उनको विश्वास छ ।
उनले भने, “आज अन्तर्राष्ट्रिय योग दिवस हो। संयुक्त राष्ट्रसंघले पारित गरेअनुसार प्रत्येक वर्ष जुन २१ तारिखलाई विश्वभर अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाइन्छ। नेपालको सन्दर्भमा भारतको राजदूतावासले विगत तीन वर्षदेखि पोखरास्थित रंगशालामा योग दिवसका कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि सहभागी हुने अवसर पाएँ, र यो मेरो चौथो सहभागिता हो । नेपाल पहिलेदेखि नै योग र ध्यानको उर्वर भूमि रहिआएको छ । हाम्रो हिमाल, पहाड तथा यहाँको विशिष्ट भूगोल योग साधनाका लागि अनुकूल छ। ऋषि-मुनिहरूले हिमालको काखमा तपस्या गर्दै योग तथा आध्यात्मिक परम्परा अघि बढाएका छन्। अहिले भारतको राजदूतावासद्वारा आयोजित यस कार्यक्रमले नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ बनाउन सहयोग पुर्याएको छ। विशेषगरी जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउन यसको महत्वपूर्ण भूमिका छ । व्यस्त जीवनमा योग र ध्यानका लागि समय निकाल्न सके तनावमुक्त जीवन सम्भव छ ।”