arrow

रास्वपा सरकारका निर्णयमाथि ज्ञवालीको प्रश्न- 'लोकतान्त्रिक संस्था कमजोर पारे जनमत सधैँ रहँदैन'

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
pradeep-gyawali-07.jpg

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारका प्रारम्भिक निर्णय र गतिविधिमाथि गम्भीर प्रश्न उठाएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने प्रवृत्ति दोहोरिए वर्तमान जनमत दीर्घकालीन रूपमा कायम नरहने चेतावनी दिए।

नेता ज्ञवालीले नेपालजस्तो भूराजनीतिक संवेदनशीलता भएको मुलुकले कुनै पनि गलत निर्णयबाट उत्पन्न हुने बाह्य दबाब थेग्न कठिन हुने उल्लेख गरे। त्यसैले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको संरक्षणमा सरकार सदैव सजग रहनुपर्नेमा उनले जोड दिए। सरकार गठन भएको सय दिनसमेत नपुग्दै केही निर्णय र गतिविधिहरूले संशय पैदा गरेको भन्दै उनले चालू महाधिवेशनमार्फत ती प्रश्नहरूको प्रष्ट जवाफ दिन रास्वपा नेतृत्वलाई आग्रह गरे।

लोकतन्त्र नियन्त्रण र सन्तुलन (चेक एन्ड ब्यालेन्स) को सुन्दर व्यवस्था भएको स्मरण गराउँदै उपमहासचिव ज्ञवालीले न्यायपालिका, राष्ट्रपति संस्था, संसद् तथा सञ्चारमाध्यमका आलोचनात्मक आवाजहरूलाई कमजोर पार्ने प्रयास भएमा जनताको समर्थन क्रमशः घट्दै जाने बताए। सरकारका कतिपय प्रारम्भिक कदमहरू रास्वपाकै चुनावी प्रतिबद्धता र लोकतन्त्र सुदृढीकरणको वाचासँग मेल नखाएको उनको टिप्पणी थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता ज्ञवालीले भने, "एउटा कुनै पनि गलत निर्णयले पार्न सक्ने भूराजनीतिक दबाब नेपालजस्तो देशले थेग्न धेरै गाह्रो हुन्छ। त्यसो भएको हुनाले तपाईँहरूको यो जनमत राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षाका लागि सुदृढ हुन सकोस् भन्ने मेरो कामना छ। दोस्रो, सरकारले अझै सय दिन पूरा गरेको छैन। आलोचना गर्न मन छैन र यो आलोचना गर्ने थलो पनि होइन। तर पनि प्रारम्भिक केही निर्णयहरू, केही गतिविधिहरूले केही प्रश्नहरू भने खडा गरेका छन्। तपाईँहरूले यो महाधिवेशनबाट ती प्रश्नहरूको जवाफ दिनुपर्छ। किनभने लोकतन्त्र भनेको नियन्त्रण र सन्तुलनको व्यवस्था हो। यदि न्यायालयहरू कमजोर भए, राष्ट्रपति संस्था कमजोर भयो, यदि संसद् कमजोर भयो, यदि आलोचनाका स्वरहरू कमजोर भए र यदि जनताका आलोचनाहरूलाई बेवास्ता गर्ने प्रवृत्तितिर अघि बढियो भने स्वाभाविक छ, त्यो जनमत सधैँभरी नरहन सक्छ। प्रारम्भिक दिनहरूले लोकतन्त्रलाई बलियो बनाउने तपाईँहरूको आफ्नै वाचापत्रसँग मेल नखाने कतिपय घटनाहरू भएका छन्। हामी चाहन्छौँ, ती कुराहरू अपवाद बनून्।"

नेता ज्ञवालीले लोकतान्त्रिक संस्थाहरूको उच्च सम्मान गर्न, रचनात्मक आलोचनालाई सहज रूपमा ग्रहण गर्न र जनमतप्रतिको जवाफदेहितालाई सधैँ कायम राख्न रास्वपाको नयाँ नेतृत्वलाई सुझाव एवं आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ