नयाँ नेतृत्वको चयन नभएसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा रहने
हाम्रा कुरा
प्रकाशित २०८३ असार ८ सोमबार
271
Shares
काठमाडौँ । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले लेबर पार्टीको ऐतिहासिक चुनावी विजयको दुई वर्षभन्दा कम कार्यकालमै सोमबार आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। नीतिगत यू–टर्न, देशभित्र बढेको तीव्र असन्तोष र पार्टीभित्रैबाट आएको चर्को दबाबका बीच उनले लेबर पार्टीको नेता र प्रधानमन्त्री पद छाड्ने निर्णय गरेका हुन्।
लन्डनस्थित प्रधानमन्त्रीको सरकारी निवास ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर भावुक हुँदै देशवासीलाई सम्बोधन गर्ने क्रममा स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको दाबी गरे।
“मैले लिएका हरेक निर्णय मैले माया गरेको देशलाई पहिलो स्थानमा राख्ने उद्देश्यका साथ गरिएका थिए। त्यसैले म लेबर पार्टीको नेताको पदबाट राजीनामा दिन्छु,” उनले भने।
स्टार्मरका अनुसार नयाँ लेबर पार्टी नेता चयनको औपचारिक प्रक्रिया आगामी जुलाई महिनाबाट सुरु हुनेछ। संसद्को ग्रीष्मकालीन बिदा सकिएर आगामी सेप्टेम्बर १ सम्ममा नयाँ नेता चयन भइसक्ने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वको चयन नभएसम्मका लागि भने उनी कामचलाउ (केयरटेकर) प्रधानमन्त्रीका रूपमा जिम्मेवारीमा रहिरहनेछन्। बेलायती सञ्चारमाध्यमहरूका अनुसार हालै उपनिर्वाचन जितेर संसद्मा फर्किएका एन्डी बर्नहम नयाँ प्रधानमन्त्रीको दौडमा सबैभन्दा अगाडि देखिएका छन्।
सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई भारी बहुमतका साथ जिताउँदै प्रधानमन्त्री बनेका ६३ वर्षीय स्टार्मरको कार्यकाल सुरुदेखि नै उतारचढावले भरिएको थियो। आर्थिक शिथिलता, महँगी, निवृत्तिभरण (पेन्सन) र कल्याणकारी योजनाहरूमा गरिएका नीतिगत परिवर्तन (यू–टर्न) का कारण उनको लोकप्रियता निकै खस्किएको थियो। हालै सम्पन्न स्थानीय चुनावमा लेबर पार्टीले भोगेको ठुलो पराजय र पार्टीभित्र बढेको आन्तरिक कलहका कारण उनी अन्ततः पद त्याग्न बाध्य भएका हुन्।
यस निर्णयसँगै स्टार्मर बेलायतको राजनीतिक इतिहासमा पछिल्लो एक दशकभित्र समय अगावै डाउनिङ स्ट्रिट छोड्ने छैटौँ प्रधानमन्त्री बनेका छन्।