संविधान बनेपछि सत्ताको खेलले नागरिकमा राजनीतिप्रति अविश्वास बढायो : गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ९ मंगलबार
131
Shares
काठमाडौँ। नेपाली कांग्रेसका नेता गगन थापाले २०७२ सालमा संविधान जारी भएपछि नेपालको राजनीतिक यात्रामा निरन्तर सत्ता-समीकरण फेरबदल हुँदै आएको बताएका छन्।
झापामा आयोजित कार्यकर्ता भेलामा उनले पछिल्ला आठ-नौ वर्षको राजनीतिक अभ्यासले नागरिकमा राजनीतिप्रति अविश्वास बढाएको टिप्पणी गरेका छन्।
थापाले कांग्रेस र नेकपा एमालेबीचको प्रारम्भिक विवादपछि एमाले र माओवादी केन्द्र मिलेर सरकार बनेको उल्लेख गरेका छन्। त्यसपछि केही समयमै माओवादी सरकारबाट बाहिरिएर कांग्रेस-माओवादी गठबन्धन बनेको र करिब आठ-नौ महिनासम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको उनले स्मरण गरे।
त्यसपछि पुनः कांग्रेस-एमाले सहकार्य हुँदै सत्ता समीकरण फेरिएको, पछि एमाले र माओवादी केन्द्रबीचको सहकार्यबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको र सो पार्टीले निर्वाचनमा बहुमत प्राप्त गरे पनि पछि विभाजन भएको उनले बताए। विभाजनपछि फेरि विभिन्न चरणमा कांग्रेस-माओवादी र एमाले-माओवादीबीच सरकार गठन हुँदै आएको उनले उल्लेख गरे।
थापाले प्रदेश तहमा समेत विभिन्न दलहरूबीच कहिले सहकार्य र कहिले प्रतिस्पर्धा हुने क्रम दोहोरिँदै आएको बताए।
उनका अनुसार पछिल्ला वर्षहरूमा सत्ता समीकरणहरू स्थिर सिद्धान्त वा नीतिभन्दा पनि तत्कालीन राजनीतिक आवश्यकताअनुसार परिवर्तन हुँदै आएका छन्।
उनले राजनीतिक दलहरूबीचको गठबन्धन र विच्छेदमा दीर्घकालीन दृष्टिकोणभन्दा सत्ता प्राप्तिको आकांक्षा हाबी भएको टिप्पणी गरेका छन्। “प्रधानमन्त्री बन्ने आकांक्षा” नै धेरै निर्णयहरूको मुख्य कारण बनेको उनको भनाइ छ।
थापाले आफू कतारमा रहँदा पनि नेपालमा सत्ता समीकरण फेरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो अस्थिरताले नागरिकमा निराशा र राजनीतिक प्रक्रियाप्रति अविश्वास बढाएको बताए।
उनले आफूहरू सत्ताको गणितभन्दा बाहिर रहेर नागरिकको आवाज प्रतिनिधित्व गर्ने प्रयासमा रहेको दाबी गरे।