arrow

नागरिकता लिन नमानेपछि ७० वर्षीयालाई बिस्कुट दिएर फकाइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
citizenship-70-years.jpeg
गोरखा । गोरखा मकैसिङ–१ पाङखोलाका सुनबहादुर चेपाङको बिहीबार बिहान श्रीमती कुकमायालाई फकाउनमै बित्यो । करिब ३५ वर्षदेखि अर्धनग्न बस्दै आएकी श्रीमतीलाई नागरिकता बनाउन जानका लागि उनले बिहान ११ बजेसम्म जोडबल गरे ।
 
मान्छे धेरै जम्मा भएको ठाउँमा जान कुकमाया मान्दै मानिनन् । श्रीमतीको नागरिकता बनाउन श्रीमान् सुनबहादुरले विभिन्न बहाना बनाए ।
 
 ‘मान्दै मानिनन्, बजार लगेर टन्न मीठो–मीठो खानेकुरा खुवाउँछु भनेर नागरिकता बनाउन यहाँ ल्याएँ,’ सुनबहादुरले भने । बिहीबार जिल्ला प्रशासन कार्यालयले मकैसिङ–२ बुटारमा घुम्ती शिविर आयोजना गरेको थियो ।
 
७० वर्षसम्म मान्छेको भीडभाड नदेखेकी कुकमायालाई नागरिकता नबनुन्जेल त्यहाँ बस्न निकै सकस भएको थियो । 
 
कपाल जिङग्रिंग भएकी र कालो रङको फरिया मात्र लगाएकी कुकमायालाई हेर्नेको संख्या बढ्दै गएपछि उनी आत्तिन्थिन् ।
 
 ‘मेरी आमा पुल तर्न मान्नुहुन्न, ठूलो मान्छेको खालमा पनि बस्नुहुन्न, कि घर, कि पखेराबाहेक अहिलेसम्म आमाले अरू देख्नु पनि भएको छैन,’ दीपकले भने ।
 
३५ वर्षदेखि कुकमाया शरीरमा पूरा कपडा पनि लगाउन मान्दिनन् । बिहीबार उनलाई प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको हातबाट नागरिकता वितरण गरियो । नागरिकता समात्न नमानेपछि उनलाई बिस्कुट दिएर फकाउनुपर्यो‍ ।
 
 नागरिकता नहुँदा उनले वृद्घभत्ता पाउन सकेकी थिइनन् । नागरिकता बनाउँदा हुने फाइदा थाहा नपाउँदा चेपाङ समुदायका कतिपय वृद्घवृद्घाले नागरिकता नबनाउने गरेको ताङलीचोक गाविसका सचिव सूर्यबहादुर बरालले बताए । 
 
बिहीबार घुम्ती शिविरबाट ३२ जनाले नागरिकता बनाए । तीमध्ये अधिकांश चेपाङ समुदायका थिए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ