हारे पनि सहआयोजक क्यानाडा विश्वकप फुटबलको ‘नकआउट’ चरणमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
256
Shares
काठमाडौँ । सहआयोजक क्यानाडा विश्वकप फुटबलको ‘नकआउट’ चरणमा प्रवेश गरेको छ । क्यानाडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको समूह चरणको अन्तिम खेलमा स्वीट्जरल्याण्डसँग पराजित भए पनि क्यानाडा समूह ‘बी’को समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
क्यानाडा २-१ ले पराजित भयो । स्वीट्जरल्याण्डको जितमा रुबेन वर्गासले गोल गरे । उनले खेलको ४६ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । खेलको ५७ औ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्वीट्जरल्याण्डको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ७६औँ मिनेटमा क्यानाडाका प्रमिस डेभिडले एक गोल गर्दै खेलमा फर्कने कोसिस गरे । तर खेलमा त्यसपछि गोल हुन सकेन । अन्ततः स्वीट्जरल्याण्डले क्यानडामाथि २-१ गोलको जित निकाल्यो ।
स्वीट्जरल्याण्डले तीन खेलबाट सात अङ्क जोड्यो । पराजित क्यानाडा पनि समूह ‘बी’को दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ । क्यानाडाको चार अङ्क छ ।
यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको पनि समान चार अङ्क रहे पनि गोल अन्तरका कारण पछि पर्यो ।
आजै भएको अर्को खेलमा बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई पराजित गर्दै जित निकालेको थियो ।
बोस्निया एण्ड हर्जगोभिनाले कतारलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । अङ्क तालिकाको तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको तेस्रो टोली बनेर नकआउटमा जाने सम्भावना भने कायमै रहेको छ ।
एक अङ्क बटुलेको कतार भने विश्वकप छनोटबाट बाहिरिएको छ ।